फ्रान्समा केहि दिन अघि केही महिलाले आफ्नो शरीरको माथिल्लो भागमा कपडा नलगाई (टपलेस) समुद्र तटमा सुतेको विषयले व्यापक चर्चा बटुलेको छ । यो विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिनु परेको छ ।
वास्तवमा अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला टपलेस भएर सनबाथ लिइरहेका थिए । उनीहरुलाई केही प्रहरीले आफ्नो शरीर ढाक्न भनेका थिए ।
प्रहरीले यो कदम एक परिवारको ऊजुरी पछि उठाएको थियो जसलाई महिला टपलेस हुनुमा आपत्ति थियो ।
तर त्यसपछि प्रहरीविरुद्ध अत्यधिक प्रतिक्रिया आए र यो व्यक्तिगत स्वतन्त्रताको मुद्दा बन्यो ।
अन्त्यमा अब फ्रान्सका गृहमन्त्रीले महिलाको समर्थन गर्नुपर्यो जसमा उनले महिलालाई कपडा लगाउन सल्लाह दिनु गलत भएको बताए ।
मन्त्री जेराल्ड डर्मेनले ट्वीट गरेर भने, ‘स्वतन्त्रता एक अमूल्य वस्तु हो ।’
घटनाः
फ्रान्सको पाइरेनिस–ओरिएन्टाल प्रहरीले आफ्नो फेसबुक पेजमा एक वक्तव्य जारी गर्दै यस घटनाबारे जानकारी दिएका छन् ।
प्रहरीका अनुसार समुद्र तटमा एक परिवार आएको थियो जसमा बालबच्चा पनि थिए । उनीहरुले प्रहरीलाई आग्रह गरेपछि प्रहरीले ती तीन महिलालाई आफ्नो छाती ढाक्न अनुरोध गरे ।
प्रहरीले भने, ‘प्रहरीले मामिला सुल्झाउने उद्देश्यले, सम्बन्धित व्यक्तिलाई आफूहरु त्यहाँ आउनुको कारणबारे जानकारी दिँदै के उनीहरुले आफ्नो छाती ढाक्न सक्छन् ? भनेर अनुरोध गरे ।’
प्रहरीले थप्यो, ‘कुनै पनि नगरपालिकाको कानूनले सेन्ट–मेरी–ला–मेरमा यस्तो प्रथा (टपलेस सनबाथ) मा रोक लगाउन सक्दैन ।’
प्रहरीले दखल दिएपछि फ्रान्सको सोसल मिडियामा आलोचना बर्सिए ।
प्रहरी प्रवक्ता ले. कर्नल म्याडी श्यररले दुई प्रहरीको मूर्खतापूर्ण व्यवहारले यस्तो घटना निम्तिएको बताएका छन् ।
उनले लेखे, ‘मलाई तपाईंले सधैं युनिफर्ममा नै देख्नुहुनेछ तर सेन्ट–मरी–ला–मेर बीचमा टपलेस भएर सुत्ने अनुमति छ ।’
यस्तै गृहमन्त्री जेराल्ड डर्मेनले महिलालाई शरीर ढाक्न भन्नु गलत भएको बताए ।
उनले प्रशासनले आफ्नो गल्ती स्विकार्नु एक सामान्य कुरा भएको बताए ।
फ्रान्समा टपलेस सनबाथमा कुनै प्रतिबन्ध छैन तर स्थानीय प्रशासले यसमा रोक लगाएर कपडाबारे निर्देशन जारी गर्न सक्छन् । स्रोतः बीबीसी



