काठमाण्डाै – अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ ।
उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका खबरमा उल्लेख छ ।
अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो । सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिनुहुन्छ तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ ।
बम विस्फाेटपछि उपराष्ट्रपति सलेहले आफ्नाे एउटा हात सामान्य जलेकाे जानकारी दिनुभयाे । आफूलाई लक्षित गरी आक्रमण भए पनि उहाँले राजनीतिक यात्रा नराेकिने बताउनुभएकाे छ ।
अफगानिस्तानका अधिकारीहरुले राजनीतिक सहमतिसम्म पुग्नका लागि कतारकाे दाेहामा हुन लागेकाे वार्ता सुरु हुने र रक्तपातकाे अन्त्य हुने विश्वास लिएका छन् ।



