शीतयुद्ध समाप्त भएपछि अहिले आएर रुसको सैन्यक्षमतामा वृद्धि भएर अत्यन्त शक्तिशाली बनेको एक बेलायती थिंकट्यांकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विशेषगरी उसको आणविक हतियार र वायुसेनाले शक्ति आर्जन गरिरहेको बताइएको छ ।
एक दशकसम्म सैन्यशक्ति अभिवृद्धि गरेको रुसको सेना युद्धका लागि तयारी अवस्थामा रहेको भनी लेखिएको छ । उसका लडाकू विमानहरू सबै चुस्तदुरुस्त छन् र सेनाले उच्चतम प्रविधि उपयोग गर्ने गरेको छ । सैनिकहरू सबै व्यावसायिक छन् ।
मस्कोसँग संसारकै सबभन्दा धेरै आणविक वारहेडको संकलन छ । ऊ अब ध्वनिको गतिभन्दा निकै तीव्र गति भएको हाइपरसोनिक क्षेप्यास्त्र बनाउन लाग्दैछ । उसले आणविक पनडुब्बीहरू पनि अत्याधुनिक बनाउँदैछ ।
इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रोटेजिक स्टडीजको प्रतिवेदनमा उल्लेख भएअनुसार, सोभियत संघको पतन भएदेखि पहिलोपटक रुसको सैन्य क्षमता बढेको हो र यसले गर्दा भ्लादिमिर पुटिनले युक्रेन, सिरिया तथा अन्यत्र प्रभाव विस्तार गर्न सफल भएका छन् ।
रुस र पश्चिमको सम्बन्धमा दरार आइरहेको अवस्थामा उक्त संस्थाको स्ट्राटेजिक डोसियरले रुसको सैन्य क्षमता वृद्धि भएकाले मस्को हतियार प्रयोग इच्छुक देखिएको भनी चेतावनी दिएको छ ।
रुसका परम्परागत सैनिकहरूलाई सोभियत संघको पतन भएपछि एकदमै कम रकम उपलब्ध गराइएको थियो । क्षेप्यास्त्रमा मात्र ध्यान दिइएको थियो ।
रुसले सन् १९९० को दशकमा चेचेन्यामा र सन् २००८ मा जर्जियामा रक्तरञ्जित युद्ध लडेको थियो अनि त्यसमा उसका हतियार र सैन्य प्रशिक्षणका कमजोरीहरू उजागर भएका थिए ।
त्यसपछि सन् २०१० मा स्टेट आर्मामेन्ट प्रोग्रामलाई स्वीकृति दिइयो । त्यसपछि रुसको जलसेनालाई अत्याधुनिक लडाकू विमान र जमीनमा मार हान्ने क्रुज क्षेप्यास्त्रहरू किन्नका लागि बजेट उपलब्ध गराइएको थियो ।
सोभियत कालका सेनाभन्दा अहिलेका फौजहरू थोरै छन् तर अत्याधुनिक हतियारले सुसज्जित छन् ।



