तिहार आउँदैछ । तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि हो । रोप्न, हुर्काउन र स्याहारसुसार गर्न सजिलो फूलहरुमध्येका एक फूल हो सयपत्री ।

सयपत्री फूललाई चार किसिमका वर्गीकरण गर्ने गरिन्छ :

फ्रेन्च (French – Tagetes patula) :यो प्रजातिको सयपत्री होचो र घना झाडीदार हुन्छ । यो एक वा बहुरंग पनि पाइन्छ । यो लामो समयसम्म फुल्ने गर्छ ।

अफ्रिकन (African – Tagetes erecta) : यो प्रजातिको सयपत्री अलि अग्लो खालको हुन्छ । प्रायः डबल फुल्ने यो प्रजातिको सयपत्री पहेलो र सुन्तला रंगका हुन्छन् । यस प्रजातिको सयपत्रीलाई अमेरिकन मेरिगोल्ड पनि भन्ने गरिन्छ ।

ट्रिप्लोइड (Triploid) : फ्रेन्च र अफ्रिकन मेरिगोल्डको क्रस गरेर निर्माण गरिएको प्रजातिको सयपत्री फूलाई ट्रिप्लोइड भनिन्छ ।

सिग्नेट (Signet – Tagetes tenuifolia) : घना झाडीदार हुने यो प्रजातिको सयपत्रीमा सिंगल फूल फुल्ने हुन्छ । यो प्रजातिको सयपत्री खान पनि मिल्छ ।

जातअनुसार सयपत्री फूलको बोट ६ इन्च (फ्रेन्च प्रजाति) देखि ३ फिटभन्दा अग्लो (अफ्रिकन प्रजाति) हुने गर्छ । त्यसैगरी, यसका फूलको पत्र पनि २ इन्चदेखि ५ इन्चसम्म लामो हुन पनि सक्छ ।

मुख्य गरेर सयपत्री वार्षिक रुपमा फुल्ने (Annual flowering plants) पोथ्रा (Shrub) समूहमा पर्ने विरुवा हो । यो सूर्यमुखी र डाइजी समूहअन्तर्गतको एस्टरासिए (Asteraceae) परिवारमा पर्ने विरुवा हो । तर वर्णशंकर प्रजाति (Hybridized varieties) का सयपत्रीहरु वाह्रै महिना फुल्ने खालका पनि हुन्छन् ।

उमार्ने र नयाँ विरुवा बनाउने तरिका

सयपत्रीलाई बीउबाट सजिलै उमार्न सकिन्छ । त्यसबाहेक, सयपत्रीको मुन्टा रोपेर पनि नयाँ विरुवा तयार गर्न सकिन्छ ।

सयपत्रीको हेरचाह

प्रकाशः सयपत्रीले सूर्यको प्रकाश मन पराउँछ । यसलाई दिनको ६ घण्टा घाम लाग्ने ठाउँमा राख्दा विरुवा राम्रो सप्रन्छ । सयपत्रीले गर्मीलाई मज्जाले खप्न सक्छ ।

माटो : सयपत्रीका लागि यस्तै माटो चाहिन्छ भन्ने खासै छैन । तर हरेक विरुवाहरुलाई जस्तै सयपत्रीलाई पनि पानी नजम्ने, जैविक पदार्थहरु पर्याप्त भएका माटो राम्रो हुन्छ ।

विरुवाबीचको दूरी : विरुवाहरु स्वस्थ रहन र राम्रोसँग हुर्कनको लागि सबैभन्दा मुख्य कुराहरुमध्येका एक हावाको राम्रो आवातजावात हुनु पनि हो । यस अर्थमा सयपत्रीका विरुवाहरुलाई पनि एक आपसमा निक्कै नजिक वा जोडाएर राख्नु हुँदैन । बोटमा हावाको राम्रो प्रवाह होस् भन्नाको लागि दुईटा बोटका बीचमा ८–१० इन्चको दूरी राखिदिँदा विरुवा राम्ररी सप्रिएर आउँछ । अझ ठूलो र झाडीदार हुने अफ्रिकन प्रजातिको सयपत्रीका बीचमा त १०–१२ इन्चको खाली भाग राख्न सके झनै राम्रो ।

पानी : सयपत्रीले पानीलाई राम्ररी सहन सक्छ । तर यसको अर्थ अन्य विरुवाहरुलाई जस्तै सयपत्रीको बोटमा पानी जम्न दिनु हुँदैन । त्यसैले सयपत्रीमा पानी हाल्दा माटोको माथिल्लो भाग सुख्खा भएपछि मात्रै पानी हाल्दा राम्रो । जमीनमा रोपिएको भन्दा गमला वा भाँडोमा रोपिएका सयपत्रीलाई तुलनात्मक रुपमा छिटोछिटो पानी हाल्नुपर्छ । सयपत्रीलाई पहिलो पटक गमला वा जमीनमा सार्दा पर्याप्त मात्रामा पानी हाल्नुपर्छ ।

मल : सयपत्रीमा मल हाल्दा ध्यान दिनुपर्ने कुरा के हो भने यसलाई नाइट्रोजन कम, फस्फोरस बढी जरुरत पर्छ । बढी नाइट्रोजन भयो भने पातहरु चाहिँ मज्जाले हराभर भएर त आउँछ तर फूल कम लाग्छ । त्यसैले सयपत्रीमा फूल बढी फुलाउनको लागि नाइट्रोजनको मात्रा कम, फस्फोरस बढी भएको मल हाल्दा राम्रो । सयपत्रीमा रासायनिक मल वा जैविक मल हाल्दै हुनुहुन्छ भने पनि नाइट्रोजन–फस्फोरस–पोटासियम (NPK) को अनुपात ५–१०–५ भएको हाल्दा राम्रो ।

फूल टिप्ने र लामो समयसम्म ताजा राख्ने तरिका

सयपत्री फूल सजावटका लागि ‘कट फ्लावर’ को रुपमा पनि प्रयोग हुने गर्छ । त्यसैगरी, हिन्दू धर्म मान्ने समुदायमा त यो फूल तिहारको बेलामा माला उन्नको लागि पनि प्रयोग हुने गर्छ ।

सयपत्री फूल टिपेर लामो समयसम्म ताजै राख्न सकिन्छ । यसको लागि सबैभन्दा उत्तम कुरा भनेको सयपत्री फूल बिहानको समयमा टिप्दा राम्रो हुन्छ ।

सयपत्री फूल टिपेपछि त्यसका पातहरु चुँडेर फूललाई एउटा भाँडोमा मनतातोपानीमा डुबाएर राख्नुपर्छ । यसरी राखिएको फूल कम्तिमा एक हप्तासम्म ताजा रहन्छ । फूललाई यसरी लामो समयसम्म ताजा राख्नका लागि बेलाबेलामा पानी फेरिदिनुपर्छ ।

धेरै फूल फुलाउन‘प्रुनिङ’

सिजनमा सयपत्रीको बोटमा फूलहरु फुलिबस्छन् । त्यसमा अझ बढी र लगातार फूल फुलाउनका लागि फुलेर छिप्पिएका वा ओइलाएका फूललाई टिपिदिनुपर्छ । ‘डेड हेडिङ’ भनिने यस प्रक्रियाले विरुवाका उर्जाहरु नयाँ फूल पैदा गर्नमा केन्द्रीत हुन पाउँछ र धेरै फूल फुलिबस्छ ।

त्यसो त पर्याप्त मात्रामा पोषण भएन, सूर्यको प्रकाश पाएन, पानी पाएन भने पनि सयपत्रीमा राम्रो फूल लाग्न सक्दैन ।

औषधीय गुण

सयपत्री सजावटका लागि सबैका प्रिय फूल त हुँदै हो, त्यसका साथसाथै, यसमा औषधीय गुणहरु पनि हुन्छन् । यसको पात र फूलका पत्रहरु पनि औषधीका रुपमा प्रयोग हुने गर्छ । छाला र आँखासम्बन्धी रोगहरु, घाउ सुन्निने, घाँटी दुख्ने, टाउको दुख्ने लगायत विविध समस्याहरुको उपचारमा यसको पात र फूलका पत्ताहरुबाट औषधी बनाइन्छ ।

सयपत्रीको फूलको खेतीले वालीनालीमा लाग्ने रुट नट निमाटोड्स (Root Knot Nematodes) समस्यालाई पनि रोकथाम गर्ने गर्छ । माटोमुनि हुने निमाटोड्स किराले जरा चुसेर जरामा गिर्खा वा गाँठोहरु पैदा गरिदिन्छ, जसले गर्दा विरुवा चाँडै बिग्रिएर मर्छ । त्यस्तो समस्या देखिएको जमीनमा सयपत्री फूलको खेती गर्ने र त्यसपछि अरु बालीनाली लगाउने हो भने यो समस्या देखापर्ने सम्भावना कम हुन्छ । यहीकारण नै, नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड लगायत कतिपय देशहरुमा उक्त कीराले दुःख दिने बालीनाली लगाउनुपूर्व सयपत्रीको खेती गर्ने चलन पनि छ । सयपत्रीको जराले माटो खुकुलो र मलिलो बनाउने मात्रै हैन, उक्त निमाटोड्स कीरालाई नियन्त्रण गर्ने काम पनि गरिदिन्छ ।

त्यसबाहेक, सयपत्रीमा लामखुट्टे भगाउने क्षमता पनि हुन्छ । सयपत्रीको गन्धले लामखुट्टे भाग्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

सयपत्रीमा लाग्ने समस्याहरु

धेरै जनाले भोगेका र महसूस गरेका कुरा के हो भने सयपत्रीको बोट सुकेर मर्ने गर्छन् । यसरी सयपत्रीको बोट मर्ने मुख्य कारणहरुमा पानी बढी हुनु वा पानी कम हुनु, पर्याप्त मात्रामा घाम नपाउनु, पोषणको अभाव र रोग एवं कीराहरुको प्रकोप हुन् ।

पछिल्लो चरणमा आएर सयपत्री आफैंमा चाहिँ विभिन्न रोगहरु तथा कीराहरुको समस्या बढेर गएको देखिन्छ । तीमध्ये पनि सयपत्रीमा सबैभन्दा बढी देखापर्ने रोगमध्येमा डढुवा रोग (Septoria leaf spot) हो । यो रोग ढुसी (Fungus) का कारण लाग्ने गर्दछ । गर्मी र वर्षात्को मौसममा यो रोगको प्रकोप बढी हुने गर्छ ।

यो रोग लागेपछि सयपत्रीको बाहिरी पातमा पहेंलो प्वालसहितको हल्का खैरो दागहरु देखापर्न थाल्छ । विस्तारै त्यो दागको बीचमा गहिरो खराने रंगमा परिणत हुन थाल्छ र विस्तारै कालो धूलो जस्तो देखापर्न थाल्छ । यो समस्या रोगी पातबाट सरेर अन्य स्वस्थ पात तथा हाँगाविगाहरुमा पनि देखापर्न थाल्छ । यो समस्या बढ्दै जाँदा पात मर्न थाल्छ र विरुवा आगोले डढेको जस्तो नांगो बनेर जान्छ ।

यो समस्या रोगी बीउको कारण वा माटोमा रहेका ढुसीले गर्दा पनि हुन सक्छ । ढुसीले बढीजसो ओसिलो मन पराउने भएकोले यो रोगको प्रकोप कम गर्ने एउटा प्रमुख उपाय भनेकै सयपत्रीको विरुवामा पानी हाल्दा सकेसम्म पातलाई भिज्न नदिनु वा सुख्खा राख्नु हो । अझ उत्तम उपाय त थोपा सिंचाई प्रणालीलाई अपनाउनु हो । तर सबैतिर यो गर्न सम्भव हुँदैन । त्यसैले सयपत्रीको फूलमा पानी हाल्दा बेलुकीभन्दा बिहान पानी हाल्नु उत्तम हुन्छ । त्यसो गर्दा भिजेका बोट र पातहरु दिउँसोको घामले सुकेर ढुसी पर्ने वा रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।

त्यसैगरी, विरुवाहरुको माझमा पर्याप्त हावा खेल्ने ठाउँ भएन भने पनि ढुसीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले सयपत्रीको बोटहरुलाई सकेसम्म हावा खेल्ने ठाउँ पाउने गरी अलि फरक दूरीमा रोप्नु पर्छ । हावा राम्ररी आवातजावात हुन दिनका लागि अनावश्यक पातहरु छाँटकाँट गरिदिनु राम्रो हुन्छ । सयपत्री फूलको व्यवसायिक खेती गर्नेहरुले चाहिँ यस्तो समस्याबाट बच्नको लागि एउटै स्थानमा ३ वर्षभन्दा बढी सयपत्री नरोप्दा राम्रो हुन्छ ।

डढुवा रोग लाग्दा बोटको तलबाट दाग देखिन्छ, डाँठ, पातहरु सुक्दै जान्छ । माथिल्लो भाग स्वस्थ देखिन्छ तर तलबाट मर्दै आएर पुरै विरुवा मरेर जान्छ ।

डढुवा जस्तै सयपत्रीलाई सताउने अर्को समस्या अल्टेरिया पनि हो । यो पनि ढुसीजन्य रोग नै हो । अल्टरनारिया अल्टरनाटा (alternaria alternata) नामक ढुसीका कारण हुने यो समस्या चाहिँ बोटमा जताततै देखिन र फैलिएर जान सक्छ ।

वर्षात‍्मा पानीको र मौसमको कारण यो रोग देखापर्छ ।

अल्टेनेरियामा बोटको तलपट्टि समस्या कम देखिन्छ । मूलतः पातहरुमा कालो कलेजीरंगका दागहरु देखिन्छ । त्यो फैलिँदै जाँदा पातहरु सुकेर जान्छ । एक ठाउँबाट शुरु भएको यो रोग चाहिँ पातहरुबाट फैलिँदै जान्छ ।

सेप्टोरिया र अल्टेरिया दुवै समस्यामा हजारीबाट पानी दिँदा रोग झनै फैलिएर जान्छ । त्यसैले विरुवामा पानी हाल्दा सकेसम्म पात भिजाउनु हुँदैन, जरामा सोझै पानी दिनुपर्छ ।

सयपत्रीमा पातमा सेतो टिकटिक देखिने थ्रिप्स ९त्जचष्उक० कीरा लाग्न सक्छ । यो रोगको कारण विरुवा स्वस्थ देखिए पनि पछि गएर विरुवा सप्रिँदैन, झाँगिन पाउँदैन । फूलको रंग नै पनि सेतोसेतो धर्का जस्तो बनाइदिन्छ । फूलको रंग बिगारिदिन्छ । हाँगाहरु राम्रो आउँदैन, कोपिला कम लाग्छ । त्यसैगरी, स्पाइडर माइट्स, एफिड्स जस्ता कीराहरुले पनि कहिलेकाहीँ सताउन सक्छ ।

रोकथाम र उपचार

विरुवा १ महिनाको भएपछि नियमित रुपमा हप्ताको एकचोटी ढुसीनाशक र २ हप्तामा १ चोटी कीटनाशकको प्रयोग गर्नुपर्छ । यसले रोग र कीराबाट बचाउँछ । अल्टनेरिया र सेप्टरिया लागिसकेको छ भने सुकेको पातहरु निकालिदिने, फंगिसाइट छर्किदिने गर्नुपर्छ । फंगिसाइटमा Carbendazim +mancozeb भएको प्रयोग गर्नुपर्छ । बजारमा पाइने साफ फंगिसाइटमा यो रसायन पाइन्छ । तर समस्या अलि बढी नै छ भने चाहिँ सामान्य फंगिसाइटले मात्रै काम नगर्न पनि सक्छ, त्यस अवस्थामा कडा खालको ढुसीनाशक औषधीको प्रयोग गर्नुपर्ने हुन सक्छ । विशेषतः Hexaconazole भएको फंगिसाइट यस मामिलामा बढी उपयोगी हुन सक्छ । यो पाउडर र झोल दुवै रुपमा पाइन्छ । झोल बढी प्रभावकारी हुने देखिन्छ ।

सामान्यतः यस्ता औषधी विषादी प्रयोग गर्दा प्रति १ लिटर पानीमा २.५ देखि ५ मिलिलिटर घोलेर स्प्रे गर्नुपर्छ । औषधीका साथमा त्यसको प्रयोगविधि उल्लेख भएका हुन्छन्, त्यस आधारमा पनि औषधीको प्रयोग गर्न सकिन्छ ।

Carbendazim +mancozeb भएको फंगिसाइटले थुप्रै किसिमका जरा कुहाउने रोगहरुबाट पनि बचाउँछ । त्यसैले विरुवामा रोग लागे पनि नलागे पनि हप्ताको १ पटक विरुवामा ती रसायन भएका फंगिसाइट छर्ने र हाल्ने गरियो भने विरुवामा हत्तपत्त रोग लाग्नै दिँदैन, लागिहाले पनि त्यति समस्या पैदा गर्दैन ।

थ्रिप्स, माइट्स लगायतका कीराहरुका लागि कीटनाशक औषधीको प्रयोग गर्नुपर्छ । थ्रिप्स लगायत कतिपय किराहरु सामान्य कीटनाशकले पनि जान्छ । तर माइट्स, ह्वाइट फ्लाइ, लिपमाइनरहरु चाहिँ अलि कडाखालका विषादीले मात्रै जान्छ । यो अवस्थामा क्लोरिफाइलोफस र स्यापलमिथिन मिसिएका कीटनाशकहरु प्रयोग गर्नुपर्ने हुन्छ ।

स्रोतः कुमारी गार्डन युट्युब च्यानल, स्मार्टगार्डनर, गार्डेनिङफरज्वाय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah