चीनको एक लडाकू विमानका पाइलटले विदेशी युद्धविमानलाई खतरनाक चुनौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ ।
सरकारी टेलिभिजन सीसीटीभीले सोमवार जारी गरेको भिडियोमा चिनियाँ अधिकारीले खासै नबुझिने अंग्रेजीमा बोलेको र उनलाई शत्रुको युद्धविमानले नजिकैबाट पछ्याएको सुनिन्छ ।
चीनको हवाईक्षेत्र तथा ताइवान जलसन्धि नजिकको विवादास्पद क्षेत्रमा बाक्लै गरी आइरहेका अमेरिकी विमानहरूलाई जवाफ दिनका लागि यो भिडियो क्लिप चीनले सार्वजनिक गरेको विश्वास गरिएको छ ।
अमेरिका र ताइवानसँग सम्बन्ध चिसिँदै जाँदा चीनको प्रोपागान्डा संयन्त्रले आफ्नो सैन्य क्षमताको फुइँ लगाउने गरेको छ र अन्य मुलुकहरूलाई चेतावनी दिने गरेको छ ।
ताइवानमा सन् २०१६ मा त्साई इङ–वेन राष्ट्रपति बनेदेखि बेइजिङले कूटनीतिक र सैन्य दबाब बढाउँदै लगेको अवसरमा यो नयाँ भिडियो सार्वजनिक गरेको हो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको शासनकालमा वाशिङटनले ताइवानसँग निकटता बढाउँदै लगेको सन्दर्भले पनि बेइजिङसँगको द्वन्द्व चर्किएको छ ।



