उत्तर प्रदेशको योगी सरकारमा महिला कल्याण राज्यमन्त्री रहेकी स्वाती सिंह बियर पसलको उद्घाटन गर्न गएपछि विवादमा परेकी छन् । यसले योगी सरकारको नैतिकतामाथि प्रश्न खडा गरेको भारतीय सञ्चार माध्यमको विश्लेषण छ । मुख्यमन्त्री योगी आदित्यनाथले यसबारे स्वाति सिंहसँग स्पष्टीकरणसमेत लिइसकेका छन् ।
स्वाति सिंहले बियर पसलको उद्घाटन गरेको कुरा सामाजिक सञ्जालमा निकै आलोचित भएको छ । उनले बियर पसल उद्घाटन गरेको तस्बिर पनि भाइरल भइरहेको छ । आलोचना गर्नेहरूले योगी सरकारको चाल, चरित्र र अनुहारलाई जोडेर चर्चा गरिरहेका छन् ।
स्वाति सिंहले महिला, परिवार कल्याण र कृषि निर्यातजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेकी छन् । उनी राज्य बीजेपी महिला एकाइकी अध्यक्षसमेत हुन् । उनी बहुजन समाज पार्टीकी प्रमुख मायावतीका बारेमा अपमानजनक टिप्पणी गरेर चर्चामा आएका बीजेपी नेता दयाशंकर सिंहकी पत्नी हुन् । दयाशंकरलाई २१ जुलाई २०१६ मा मायावतीबारे अपमानजनक टिप्पणी गरेपछि पार्टीले निलम्बित गरेको थियो, तर अहिले उनी पार्टीमा आइसकेका छन् ।
दयाशंकर निलम्बित भएकै बेला स्वाति सिंहले राजनीति सुरु गरिन् र भर्खरै भएको विधानसभा चुनावमा लखनऊको सरोजनीनगर सिटबाट चुनाव जितेर विधायक बनिन् । उनको क्षमता देखेर योगीले उनलाई मन्त्रिमण्डलमा स्थान दिएका थिए तर पछिल्लो घटनाले उनको छवि बिग्रेको बताइन्छ ।



