जितलाई कसरी लिनु भएको छ ?
–जित सुनिश्चित नै थियो । नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, वडाध्यक्ष हुँदा मैले गरेको काम र एमाले जिल्ला सचिव भएर जस्तो काम गरे, त्यसले यो जित स्वभाविक हो ।
०७० सालको चुनावमा काठमाडौं बलियो देखिएको थियो, जुन पार्टीका उमेद्वारलाई पराजित गर्नुभयो । कसरी संभव भयो ?
–व्यक्तिगत मात्रै होइन, पार्टीको चुनाव लडेका थियौं । मेरो पछाडि सींगो एमाले उभिएको थियो । त्यसपछि मेरो व्यक्तिगत कारणले पनि जित संभव भयो । अरु भन्दा राम्रो काम गर्नसक्छु भनेर जनतालाई भनेँ । स्थानीय तह भंग भएको लामो समय भएपनि मैले जनताको काम गर्न छोडिन । कहिल्यै पनि जनताको काम भन्दा अरुमा ध्यान दिइन ।
वडाध्यक्ष हुँदै गर्दा तपाईँलाई काठमाडौंको मेयर हुन्छु भन्ने लागेको थियो ?
–वडाध्यक्ष पनि हुन्छुजस्तो लागेको थिएन । ०४६ को जनआन्दोलनमा सहभागी हुँदै गर्दा वडाध्यक्ष हुने सपना थिएन । वडाध्यक्ष भएपछि पनि मेयर हुन्छु भन्ने पनि लागेको थिएन । तर, साथीभाइहरुको आग्रहले वडाध्यक्ष हुँदै मेयर भएँ ।
वडाध्यक्ष त्यसपछि मेयर । दुवै नभएको भए के हुनुहुन्थ्यो होला ?
–व्यक्तिगत रुपमा आर्थिक उपार्जनतिर लागिन्थ्यो होला । तर, राजनीति र समाजसेवा भनेको नसाजस्तै हुने रहेँछ । त्यसले गर्दा निरन्तर जनताको बीचमा रहेँ । छोड्नै नसकिने । त्यसैको प्रतिफल आज सहज रुपमा मेयर भएको छु ।
राजधानी शहर । धेरैको चासो र चिन्ताको पनि केन्द्र । यहाँका मान्छेको चासो चाँही केमा हुन्छ ?
–काठमाडौं सांस्कृतिक, धार्मिका र पर्यटकीय रुपमा समृद्ध शहर हो । यहाँका स्थानीय र बाहिरबाट आएकाहरुको मिश्रित बसोबास छ । त्यसैले दुवै खाले समस्या छन् । स्थानीयको चाहना भूकम्पले भत्काएका पुनर्संचनाको चिन्ता छ भने बाहिरबाट आएकाहरुको अव्यवस्थित बसोबास छ । दुवैको आवश्यकता र सम्बोधन फरक छ । अर्काेतिर, धुलोधुँवा र चक्काजाम साझा चासो र समस्या हो ।
काठमाडौंको सडकमा जस्तो खाल्डाखुल्डी छ कि कहिल्यै पुरेर नसकिनेजस्तो । अब पुरिन्छ ?
–खाल्डाखुल्डी र धुलोधुवाँ हटाउनै नसकिने भन्ने होइन । सवैको ध्यान महानगरतिर छ । खानेपानी, सडक र ट्राफिक व्यवस्था गर्ने निकाय अरु नै भएपनि महानगरतिर सबैको चासो छ । महानगरले हिजोसम्म गर्न नसकेपनि अब गर्नुपर्छ । मेलम्ची खानेपानी योजना सकिएपछि सायद यो समस्या धेरै हटेर जान्छ ।
१०१ कामको सूची त चुनावअघि नै लिएर आउनु भएको छ । यसबाहेक अरु के छ ?
–धेरै कुरा प्रतिवद्धतापत्रमा छ । मेरोजस्तै अरु दलहरुको पनि भएकाले प्रशासनिक सुधार, सहज रुपमा सेवा दिनुपर्छ । अनि, धुलोधुवाँको समस्या तत्काल हल गर्नुपर्नेछ । अब, तत्काल बोर्डको बैठकबाट यो समस्या हटाउनेतिर लाग्छौं ।
त्यसो भए अब काठमाडौंबासीले धुवाँधुलोबाट पार पाउने भए ?
–संकेत पाउनुहुन्छ । दुई/चार दिनमा त नसकिएकाले तर, दुई/दिनभित्रै धुलोधुँवा हट्ने संकेत पाउनुहुन्छ ।
धेरैको जोड भ्रष्टाचार हुनुहुन्न भन्नेमा छ । तपाईँको यसमा कस्तो नीति रहन्छ ?
-भ्रष्टाचार र ढिलासुस्ती मुक्त भनेर हामीले पहिले भनेका छौं । यसमा जनप्रतिनीधि सचेत भएर लाग्नेछौं । हाम्रो सींगो समूह नै सुशासनतिर केन्द्रीत हुन्छ । पद बहाली भएकै दिनबाट यसतिर ध्यान दिन्छु । दुई पटक वडाध्यक्ष र यो पटक मेयर भएको छ । एकपछि अर्काे चुनाव झन् धेरै मत ल्याइरहेको छु । यसबारे आर्थिक मामलामा मेरो शैली भनिरहनु परेन । मैले राम्रो गरेकैले हरेक पटक जनताबाट पुरस्कृत हुँदै आएको छु । यो पटक पनि काठमाडौंका जनता र नेकपा एमालेको शीर निहुरिनेगरी कुनै काम गर्दिन, उँचो नै बनाउँछु ।
काठमाडौं अवस्थित हुनुमा एकीकृत योजना नहुने अनि खोनपानी, सडक, ट्राफिकका कारण अवस्थित देखिने गरेको छ । तपाईँ अब के गर्नुहुन्छ ?
–अब हामी अगुवाई गर्छाैं । हिजो कर्मचारी मात्रै हुँदा समन्वय हुँदैन थियो । जनप्रतिनीधिले त्यो गर्न सक्छ । हामी जहाँ पनि जान सक्छौं । प्रधानमन्त्री, राष्ट्रपतिसँग पुग्न सक्छौं । सहजै पुग्न सक्छौं । यसले गर्दा सबैखाले समस्या हल गर्ने अवसर आएको छ । भारी मतले विजयी हुनु भनेको भारी जिम्मेवारी हो, अब काम गर्छाै र गराउँछौं ।
मेयरको उमेद्वारी दर्ता हुने दिनसम्म तपाईँ नै एमालेबाट हो भन्ने निश्चित थिएन । उमेद्वारी हुँदै चुनाव जित्नुभयो, त्यसबारे के भन्नुहुन्छ ?
–स्वभाविकै हो । पार्टीभित्र सबै योग्य थियौं । मेरो ठाउँमा अर्काे जनाले टिकट पाएपनि चुनाव जितिन्थ्यो । किनभने, समूहले चुनाव जित्ने हो । अब पनि सामुहिक निर्णयका आधारमा निर्णय हुन्छ । मेरो टीम हुन्छ, विज्ञहरु हुन्छन्, त्यहाँ सबै रहन्छौं । पार्टी र पूरै काठमाडौंबासी जनता हुन्छन् ।
के गरियो भने चाँही वडाध्यक्ष हुँदै मेयरसम्म भइदो रहेँछ ? आफैंलाई समीक्षा गर्नुहोस् त ?
–लगनशीलता र इमान्दारिता हुनुपर्छ । ०४९ मा वडाध्यक्ष बन्न मलाई पार्टी नै आग्रह गरेको हो । सक्षम र योग्य मानिस पार्टीमा धेरै हुन्छन् तर, कसलाई उठाउँदा जित्छ भनेर पार्टीमा छलफल हुन्छ नै । त्यसबेला मलाई पार्टीले नै खोजेर टिकट दिएका थिए । मैले खोजिहिडेको थिइनँ । मेरै इच्छा बिपरीत नै उमेद्वार बनाइएको थियो र जिते पनि । अर्काे पटक पनि टिकट पाए । फेरि पनि जिते । जनताको मन जित्नुपर्छ, नियत सफा हुनुपर्छ । बाटो आफैं खुल्दै जान्छ ।
राजनीतिमा लिने भन्दा ज्यादा दिने हुन्छन् । जीवनको कुनै मोडमा राजनीतिमा व्यर्थै लागिएछ भन्ने त भएन ?
–राजनीति लिन होइन दिने नै गरिने हो । पेशा व्यवसाय गरेजस्तो राजनीति होइन । त्यसैले सबैले राजनीति गर्न सक्दैनन् । लिन खोज्नेले राजनीति गर्न सक्दैनन् । पढेकाले मात्रै पनि राजनीति गर्न सक्दैनन् । व्यक्तिगत स्वतन्त्रता राजनीतिले खोस्छ । राजनीति समाजसँग जोडिने भएकाले पनि गाली खानुपर्छ । राजनीतिमा व्यक्तिगत भन्दा पनि सामाजिक सुखमा रमाउनुपर्छ ।
तपाइँ सँधै चुनाव जित्नुहुन्छ, बातावरण पनि बन्छ । विद्यासुन्दरसँग के त्यस्तो ग्य्राभिटी छ ?
–कसैसँग पूर्वाग्रह राख्दिन । राम्रो कामका लागि सबै मिल्नुपर्छ । अहिले राप्रपाको एक सिट छ तर, सम्मानजनक मत ल्याएर पनि बाहिरिएका दलहरु छन् । जस्तो–साझा पार्टी, विवेकशील पार्टी, माओवादीहरु । उहाँहरुको पनि सम्मान गरेर अघि बढ्छु । जन्मका आधारमा होइन, कर्मको आधारमा मानिसको चिनारी बन्छ ।
०६४ वर्षअघिको यस्तो माओवादी अत्यन्तै नराम्रोगरी पराजित भए नि ?
–यसबारे कमेन्ट नगरौं ।
पाँच वर्षपछि कस्तो काठमाडौं देख्न पाउँछौं ?
–सुन्दर, सुरक्षित, समृद्ध र जीवन्त शहर हुनेछ । यसबारे थुप्रै कुराहरु भनिसकेको छु । हेर्न लायक र बस्न लायक काठमाडौं बनाउँछु ।
अन्त्यमा, अब तपाईँको के सपना छ ? मन्त्री, प्रधानमन्त्री….
–एउटै मात्र सपना छ– समाजलाई केही दिन सकूँ । सबैले सम्झिनेगरी, महशुस गर्नेगरी काम गरौं । बाँकी, आइलागेको भूमिकाहरु पूरा गर्दै जान्छु ।
नयाँपेजबाट साभार



