काठमाडौँ। रूसी संविधान संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ, जस अन्तर्गत रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र उनका परिवारलाई उनी पदबाट हटेपनि कुनै आपराधिक कारबाही दर्ता नगरिने सुनिश्चित गरिएको छ ।
सबै रूसी राजनीतिज्ञहरूले यस विधेयको समर्थन गरेका छन्। सो विधेयक सजिलै दुबै सदनबाट पारित गरिएको समाचार माध्यम अल्जजीराले जनाएको छ। रूसी संसदको दुबै सदनबाट उक्त बिल पारित भएपछि, पुटिनले मंगलबार पुर्व रुसी राष्ट्रपतिहरुलाई कुनै अपराधको लागि आजीवन प्रतिरक्षा प्रदान गर्ने विधेयकमा हस्ताक्षर गरेका हुन्।
यो विधेयक त्यस संवैधानिक संशोधनको हिस्सा हो जुन यस वर्ष जुलाईमा जनमत संग्रहबाट सहमति जनाइएको थियो र त्यसमा पुटिन सन् २०३६ सम्म रुसको राष्ट्रपति पदमा रहने भनिएको थियो। विधेयकलाई मंगलबार अनलाइन प्रकाशित गरिएको थियो। यस विधेयकले पूर्वराष्ट्रपति र उनका परिवारलाई पनि जीवनकालमा भएका अपराधका लागि अभियोजनबाट मुक्ति दिने छ। साथै, उनीहरुलाई पक्राउ गर्न, खोजी गर्न, प्रश्न वा मुद्दा चलाउन सकिँदैन।
वर्तमानमा समयमा केवल एक जना पुर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेव जीवित छन्, जसले पुटिनसँगै नयाँ कानूनको फाइदा पाउनेछन्।
दिमित्री मेदवेदेव पुटिनका एक सहयोगी पनि हुन्। नयाँ कानुन अन्तर्गत रूसका पूर्व राष्ट्रपति लगायत उनका परिवारका सदस्यहरूलाई पनि प्रहरीले अनुसन्धान र सोधपुछको दायरा ल्याउन सक्दैन। साथै, यिनीहरुको सम्पत्तिमा पनि छानबिन नहुने र जफत नहुने कानुनमा उल्लेख छ।
६८ वर्षीय पुटिनले सन् २०२४ मा आफ्नो चौथो कार्यकाल पूरा गर्दैछन्। तर संवैधानिक परिवर्तन पछि उनले ६ वर्षको थप दुई कार्यकाल पूरा गर्न सक्नेछन्।
रूसमा पुटिन सन् २००० देखि सत्तामा छन्। यद्यपि नयाँ रक्षा विधेयकले गम्भीर अपराध र देशद्रोहको मुद्दालाई एउटा अपवादको श्रेणीमा राखेको छ। यसर्थ, यी परिस्थितिहरूमा पूर्व राष्ट्रपतिहरूलाई पनि मुद्दा हाल्न सकिन्छ।



