हङकङका मिडिया टाइकुन जिमी लाई बुधबार फेरि सुरक्षा कानुन अन्तर्गत गिरफ्तार भएका छन्।
जिमीलाई गत डिसेम्बरमा मात्र गिरफ्तार गरिएको थियो। ७३ वर्षका जिमी हङकङबाट प्रकाशित हुने चिनियाँ भाषाको टेब्लोइड पत्रिका एप्पल डेलीका संस्थापक हुन्, जो हङकङमा लोकतान्त्रिक आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।
त्यसबेला सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो।
त्यसको तीन हप्तापछि उनलाई जमानतमा छाडिएको थियो। यतिबेला फेरि उनी सुरक्षा कानुन अन्तर्गत नै पक्राउ परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनीमाथि ताइवान भाग्न खोज्नेलाई सहयोग गरेको आरोप लागेको छ। सन् २०१९ को हङकङ आन्दोलनमा सहभागी भएका १२ व्यक्तिलाई ताइवान भाग्न मद्दत गरेको उनीमाथि आरोप लागेको हो।



