अस्ट्रेलियामा फेसबुकले आफ्नो प्ल्याटफर्ममा समाचार हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ। बिहीबारदेखि अस्ट्रेलियामा स्थानीय र अन्तर्राष्ट्रिय समाचार पोर्टलहरुका कन्टेन्टहरु फेसबुकमा देखिएका छैनन्।प्ल्याटफर्ममा समाचार कन्टेन्ट राखे वापत फेसबुकले अस्ट्रेलियामा पैसा तिर्नुपर्ने भएपछि उक्त निर्णय गरिएको हो।समाचार पोर्टलका कन्टेन्टहरु ‘ब्लक’ गर्ने क्रममा सरकारी स्वास्थ्य र आपतकालिन संस्थाका पेजहरु समेत बन्द भएका थिए। पछि फेसबुकले त्यसलाई ‘गल्ती’ भन्दै सच्याएको थियो।फेसबुकको उक्त निर्णयका कारण अस्ट्रेलिया बाहिर बसेकाहरुले समेत अस्ट्रेलियन समाचार संस्थाहरुले प्रकाशित गर्ने समाचार पढ्नबाट बञ्चित भएका छन्।
अस्ट्रेलियन सरकारले भने फेसबुकको उक्त कदमको आलोचना गरेको छ। ट्रेजरर जोश फ्राइडेनबर्ग यसबाट समाजमा ठूलो प्रभाव पर्ने बताएका छन्। उनले आफूहरुले छिट्टै कानुन परित गर्ने तयारी गरेपनि अस्ट्रलियामा फेसबुकलाई निरन्तर हेर्न चाहेको बताएका छन्। तर, फेसबुकको आजको कार्य अनावश्यक र गलत रहेको उनको टिप्प्णी थियो।गुगल र फेसबुकले उक्त कानुनविरुद्ध निवेदनपनि दिइसकेको छ। यस्तै , केही समाचार आउटलेटहरुसँग कारोबारका लागि सम्झौता समेत गरिसकको छ। गुगलले रुप्रट मर्डकको कम्पनीलाई समाचार कन्टेन्टका लागि रकम दिने घोषणा गरेको केही समयमा नै फेसबुले आफ्नो प्ल्याटफर्ममा समाचार कन्टेन्टमाथि प्रतिबन्ध लगाएको हो।अस्ट्रेलियामा एक महिनमा १ करोड ७० लाखभन्दा बढीले सामाजिक संजाल चलाउने गरेको तथ्यांक छ।



