मोरङ्गको दोश्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारी नगरपालिकाबाट नेकपा एमालेकी उपमेयरकी उम्मेद्वार लक्ष्मी भण्डारीले उर्लाबारीलाई हिंसामुक्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ। भण्डारी राजनीति सँगसँगै सामाजिक सेवा र महिला अधिकारका क्षेत्रमा समेत सकृय अभियन्ता हुनुहुन्छ।
भण्डारीले उपमेयरको टिकट पाएपछि राष्ट्रपतिकी देवरानी उपमेयरकी उम्मेद्वार भनेर निक्कै चर्चा पनि भयो। तर उपमेयरकी उम्मेदवार भण्डारी प्रष्ट पार्नुहुन्छ “मैले राष्टपतिकी देवरानी भएकै कारण टिकट पाएको भने होइन, मैले मेरो क्षमता र योग्यताले टिकट पाएको हुँ। मैले टिकट पाएपछि मात्र बिद्यादिदीले म उठदै छु भन्ने थाहा पाउनुभयो होला। मैले टिकट दिलाइदिन भनेर कुनैपनि नेतालाई एक पटक पनि फोन गरिन।
को हुन लक्ष्मी भण्डारी ?
लक्ष्मी भण्डारी नेकपा एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारीकी भाइबुहारी हुनुहुन्छ। भण्डारीका साइला भाई मोहन भण्डारीकी श्रीमति लक्ष्मी भण्डारी २०४७सालदेखि एमालेको संगठित सदस्यका साथ पार्टीमा सकृय हुनुहुन्छ। हाल उहाँ नेकपा एमाले जिल्ला कमिटि मोरङ्गको सदस्य हुनुहुन्छ। उहाँले उर्लावारीमा वडा सचिव भएर वडा तहमा नेतृत्व गर्नुभयो। त्यसपछि गाँउ कमिटि सदस्य, इलाका र क्षेत्रीय सदस्य भएर पार्टीको संगठन सुदृढिकरणमा लामो समय योगदान पु¥याउनुभयो। पार्टीका बिभिन्न पदमा रहेर त उहाँको योगदान छ नै।
आफ्नो ब्यक्तिगत स्वार्थलाई थाँती राखेर लक्ष्मी भण्डारी सामाजिक काममा रातोदिन खटेको उर्लाबारीबासीले प्रसस्तै देखेका छन। खासगरि उहाँ महिला अधिकार र महिला हिंसाका बिरुद्ध लामो समय देखि सकृय अभियन्ता हुनुहुन्छ। सामुदायिक मेलमिलाप समिति मोरङको उपाध्यक्ष भएर कामगर्दा उहाँले दर्जनौ महिलालाई न्याय दिलाउन सहयोग गर्नुभएको छ। हिंसा पीडित महिलाको पक्षमा उहाँले दर्जनौ मुद्वाहरु हेर्नुभएको छ। उहाँको कार्यको उच्च मूल्यांकन गर्दै तीन बर्षअघि मोरंग जिल्लामा धेरैलाई मेलमिलाप गराउने अभियन्ताका रुपमा उहाँ जिल्ला अदालत मोरंगका न्यायाधिसबाट सम्मानीत भइसक्नुभएको छ।
भण्डारीका योजना
एमाले उर्लाबारी उपमेयरकी उममेद्वार भण्डारी उर्लाबारीलाई हिंसामुक्त नगर बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएर उर्लाबारीलाई नमूना नगर बनाउने सोचमा हुनुहुन्छ। उपमेयर पदको टिकट पाएकी भण्डारी मतदाताकहाँ, हिंसा मुक्त, बालश्रम मुक्त उर्लाबारीको नारा लिएर चुनावी मैदानमा हुनुहुन्छ। महिला लगायत लक्षित वर्गकालागि भनेर आउने बजेटको सहि सदुपयोगका लागि कुनै कसर बाँकी नराख्ने भण्डारीले बताउनुभयो।
नगर क्षेत्रका साँघुरा सडक फराकिलो बनाउने, व्यवस्थित ढल निकासको निर्माण उहाँका बिकास सम्बन्धी एजेण्डाहरु हुन्। नदीमा तटबन्ध निर्माण गरि बर्षेनी हुने बाढीको पीडाबाट मुक्त गर्न पहल गर्ने उहाँको प्रतिबद्वता छ। एक वडा एक बृद्ध चौतारी, एक चिल्ड्रेन पार्कको निर्माणलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। सडक बालबालिकालाई पुनस्थापित गराउने पनि आफ्नो उपमेयर भएपछिको योजना रहेको भण्डारीले सुनाउनुभयो। आफू उर्लाबारीको समस्यासँग मज्जैले परिचित भएकाले उहाँले उर्लाबारीको समस्यासँग सधैँ पैठेजोरी खेलिरहने भन्दै समस्यामै अवसर सृजना गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो।



