एजेन्सी, ३ असार । अमरीकी राष्ट्रपति डोनल्ड ट्रंपले पूर्व राष्ट्रपति बराक अोवामा र क्यूबा सरकार बीच भएको केही सम्झाैता रद्द गर्ने बताएका छन् ।
मायामीमा भाषण गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युबाप्रतिको आफ्नो प्रशासनको नयाँ नीति अघि सारेका हुन् । जसअन्तर्गत कम्युनिस्ट नेतृत्वको टापु मुलुक क्युबासँग द्विपक्षीय आदानप्रदानसम्बन्धी ओबामा प्रशासनले लागू गरेका नीतिका केही महत्वपूर्ण पक्ष ट्रम्प प्रशासनले उल्ट्याउँदैछ।
यो कुरा पहिल्यैदेखि स्पष्ट थियो कि राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाको तुलनामा क्युबाली सरकारसँग अझ बढी आक्रामक नीति अवलम्बन गर्न चाहिरहेका छन् । तर मायामी एउटा भाषण दिने क्रममा ट्रम्पले आफ्ना भनाईलाई चर्काएका छन्।
उनले भने, “ओबामा प्रशासनले क्युबासँग गरेको पूर्णतः एकतर्फी सम्झौताहरु तत्काल लागू हुने गरी मैले रद्द गर्दैछु।” चुनावी अभियानमा जस्तै तालीको गडगडाहटमाझ ट्रम्पले त्यस्तो घोषणा गरे । ओबामा प्रशासनले खुकुलो पारेको यात्रा प्रतिबन्ध र व्यापारमाथिको कडाईको अवस्थालाई ट्रम्पले यथास्थितिमा फर्काएका छन् ।
यद्यपि कडा कदमहरु चालिएपनि क्युबासँगको द्विपक्षीय आदानप्रदानको नीतिलाई चाहिँ पूर्ण रुपमा उल्ट्याइएको छैन। आगामी दिनमा क्युबा भ्रमणमा जाने अमेरिकीहरुले त्यहाँको यात्रामा जानुपर्ने उद्देश्यबारे थप प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ।
पछिल्ला दुई वर्षमा कीर्तिमानी संख्यामा अमेरिकी नागरिकले क्युबाको यात्रा गरेका छन् । अब उप्रान्त व्यक्तिगत रुपमा भन्दा संगठित समूहमा अमेरिकीहरु क्युबाको भ्रमणमा जानुपर्ने हुन्छ ।अमेरकी डलरले क्यास्ट्रो सरकारलाई सघाइरहेको भन्दै ट्रम्पले क्युबाली सेनाको व्यापारिक शाखाहरुसँग मिलेर लगानी गर्न अमेरिकी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन्। अहिलेको भन्दा उत्तम खालको सम्झौता तयार पार्न क्युबालाई चुनौती दिँदै राष्ट्रपति ट्रम्पले हवानास्थित अमेरिकी दूतावास खुला र सहकार्यका लाग तयार रहेको बताए। बीबीसी



