वैज्ञानिकहरुले दिनहुँ अन्तरीक्षमा नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका हुन्छन् । कहिले नयाँ ग्रहको खोजी गरिएको हुन्छ त कहिले त्यहाँ बस्ती बसाल्ने योजना ।यदि तपाईं तारा जुनको बीचमा खानपिन तथा मस्ती गर्ने सपना देख्नुहुन्छ भने अब त्यो पनि टाढा छैन । किनकि सन् २०२७ सम्ममा अन्तरीक्षमा सुविधासम्पन्न होटल खुल्नेछ ।उक्त होटलको नाम भोएजर क्लास स्पेस स्टेशन राखिनेछ ।चर्चित डिजाइनिङ कम्पनी आर्टिबल असेम्बली कर्पोरेसनले सन् २०२७ सम्म अन्तरीक्षमा बनाउने एक होटलको नमुना शेयर गरेको छ । उक्त होटलको निर्माण कार्य सन् २०२५ बाट सुरु हुने बताइएको छ र त्यसको २ वर्षमा निर्माणकार्य पूरा हुनेछ ।
अन्तरीक्षको उक्त होटेललाई एक ठूलो वृत्ताकारमा तयार गरिनेछ। त्यसमा शयन कक्ष, बार, रेष्टुरेन्ट, स्पा, सिनेमा हल, जिमखाना लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । उक्त होटलमा फाइभ स्टार होटलमा जस्तै सुविधाहरु उपलब्ध हुने बताइएको छ ।होटलका सबै संरचनाहरु पृथ्वीमै तयार गरी अन्तरीक्षमा पूराइनेछ ।भोएजर क्लास स्पेस स्टेसन नामको उक्त होटल घुमिरहनेछ । जसका कारण त्यसमा कृत्रिम गुरुत्वाकर्षण कायम हुनेछ । अर्थात् त्यसमा चन्द्रमामा जस्तो गुरुत्वाकर्षण कायम गरिनेछ ।उक्त होटल भएको स्पेस स्टेसनमा केही वृत्तहरु थप गरिनेछ र त्यसलाई अनुसन्धानका निमित्त नासालाई प्रदान गरिनेछ ।होटल भित्र गुरुत्वाकर्षणलाई विशेष रुपले ध्यान दिइनेछ ता कि पाहुनाहरुलाई कुनै असहजता महसुस नहोस् ।होटल भित्रैबाट मानिसहरुले ब्रम्हाण्डको अवलोकन गर्न सक्नेछन् । उक्त होटलमा एक पटकमा चार सय मानिस बस्न सक्नेछन् ।



