उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिकालाई आफ्नो निद्रा बिगार्ने गतिविधि नगर्न चेतावनी दिएको खबर त्यहाँको सरकारी सञ्चारमाध्यमले दिएको छ ।
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन सोमवार जापान पुगेर चीनका विरुद्ध सैन्य गठबन्धन बनाउन तथा आणविक शक्तिसम्पन्न उत्तर कोरियाविरुद्ध संयुक्त मोर्चा गर्न खडा गर्न पैरवी गरिरहेको अवस्थामा यो जोङको बयान आएको हो ।
किमकी प्रमुख सल्लाहकार यो जोङले दिएको बयान अमेरिकाका नयाँ राष्ट्रपतिप्रति लक्षित पहिलो बयान हो । उनले जो बाइडनको नाम चाहिँ लिइनन् ।
अमेरिका र दक्षिण कोरियाले गत साताबाट संयुक्त सैन्य अभ्यास थालेका छन् । प्योङयाङको आधिकारिक पत्रिका रोदोङ सिनमुनले उनको बयान छापेको छ जसमा उल्लेख गरिएको छ – हाम्रो भूमिमा बन्दूकको बारुदको गन्ध फैलाउन चाहने अमेरिकाको नयाँ प्रशासनलाई सल्लाह दिन चाहेका छौं ।
‘तिमीहरू अर्को चार वर्ष राम्ररी सुत्न चाहन्छौ भने निद्रा भंग गर्ने कुनै पनि काम नथाल,’ उनले भनिन् ।



