पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ ।चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने गर्छन् अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाइने छ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानून हालेको) खानेकुरा खाने चलन छ ।त्यस्तै षष्ठीका दिन अर्थात् (आइतबार) साँझ गहुँ र चामल ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ ।धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामर्थ्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ । – रासस



