मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनमा बलिउड अभिनेत्री कंगना रनौत अगाडि आएकी छन् । अभिनेत्री रनौतले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीको समर्थन गरेकी हुन् ।
उनले शुक्रबार मोदी भावुक भएको क्षणको बारेमा इन्स्टाग्राम स्टोरीमा लामो समर्थनका शब्दहरु लेखेकी हुन् । कंगना लेखेकी छन्, “आँसु सक्कली हो वा नक्कली भन्दै त्यसको परीक्षणमा अल्झेर बस्न चाहनु्हुन्छ वा कुनै यस्ता व्यक्तिको भावनात्मक बुद्धिमता र सहनशक्तिलाई स्वीकार्न चाहनुहुन्छ, जो अरुको दुःखमा दुखी हुन्छ र त्यो दुःख उसले मात्रै नभई सबैले महसुस गर्नुपर्छ भन्ने सोच्छ ।”
उनले अगाडि लेखेकी छन्, “उनको (मोदी) आँसु अन्जान घटनाको रुपमा झरेको हो वा सचेत प्रयास थियो, यसले कसरी फरक पार्छ । केही व्यक्तिहरु हरेक समाधानका लागि समस्या खोज्छन् । म तपाईँको आँसु स्वीकार्छु प्रधानमन्त्री, म तपाईँको दुःख बाँड्न दिन्छु…।”
कंगनाले एक दिनअघिको घटनालाई इंगित गर्दै यसो लेखेकी हुन् । अघिल्लो दिन मात्रै प्रधानमन्त्री मोदीले कोभिड–१९ को दोस्रो लहरको बारेमा वाराणसीका स्वास्थ्यकर्मीहरुसँग कुराकानी गरेका थिए । सोही क्रममा उनले कोरोनाका कारण ज्यान गुमाएका चिकित्सकहरुप्रति श्रद्धाञ्जलि दिँदै आँखाबाट आँसु खसालेका थिए । मोदीको यही भावुक भिडियो छिनमै इन्टरनेटमा भाइरल भयो र आलोचनाहरु हुन थाले ।त्यसपछि कंगना मोदीको समर्थनमा आएकी हुन् ।
यसअघि पनि कंगनाले मोदीलाई ‘फादर अफ नेसन’ भनेकी थिइन् । जसमा अवकाशप्राप्त आईएएस अधिकारी सूर्यप्रताप सिंहले आपत्ति जनाएका थिए । नवभारत टाइम्सबाट ।



