एजेन्सी । अफगानिस्तानको राजधानी काबुल विद्रोही समूह तालिवानले कब्जा गरेपछि देश छाडेर भागेका अफगान राष्ट्रपति अशरफ घानी कहाँ गए भन्ने विषय अहिले सर्वत्र चर्चा भएको छ । सुरुमा उनी भागेर ताजिकिस्तान गएको बताइएको थियो । तर, पछि अल जजिरा टिभीले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको बताए ।
अल जजिराका अनुसार राष्ट्रपति घानीसहित उनका पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन् । राष्ट्रपतिको निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार प्रसारण गरेपनि त्यसको पुष्टि भने अहिलेसम्म नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस्तै उपराष्ट्रपति अमिरुल्लाह साहले पनि काबुल छाडेको बताइएको छ । काबुल छाड्नुअघि राष्ट्रपति घानीले अफगान नागरिकको नाममा सम्बोधन गर्दै आफूले कठिन फैसला लिएको बताएका थिए । उनले रक्तपात रोक्नको लागि काबुल छाड्ने निर्णय गरेको स्पष्टीकरण दिएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेको थिए, ‘आज मैले कठिन निर्णय लिन पर्यो । तालिवान राष्ट्रपति भवनमा आउन चाहान्थे, उनिहरुका आफ्नो प्यारो जसको सुरक्षार्थ विगत २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यसलाई छोडौँ ।’
घानीले भनेका छन्, ‘यदि यस क्रममा अनगिन्ती मानिसहरु मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नपथ्र्यो भने त्यसबाट ६० लाख जनसंख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो ।’



