सलील ज्ञवाली उत्तरपूर्वाञ्चल भारतका एकजना सुपरिचित स्रष्टा हुन्। विशेषगरि अङ्ग्रेजीमा कलम चलाउने ज्ञवालीको ‘ ग्रेट माइन्डस अन इण्डिया’ अङ्ग्रेजी भाषामा लेखिएको एक बहुचर्चित कृति हो । यो कृति नेपाली, हिन्दी, तामिल, तेलेगु, मलायालम, गुजराती, माराठी, बङ्गला, मणिपुरीजस्ता भारतीय सरकारी भाषामा अनुवादित भएको छ भने जर्मेनीजस्तो विदेशीभाषामा पनि उक्त पुस्तक प्रकाशित भइसकेको छ । असमिया भाषामा अनुवादगरि प्रकाश गर्न असम सरकारका तत्कालीन मुख्यमन्त्री सर्वानन्द सोनोवालले सरकारी विभागलाई निर्देश दिइसकेका हुन् ।
त्यसैगरी कन्नड भाषामा अनुवाद र प्रकाश गर्न कर्नाटक सरकारले जिम्मेवारी वहन गर्ने भएको छ । पुस्तक प्रकाशनपछि यसलाई राज्यका हरेक पुस्तकालयमा संरक्षण गर्ने सिद्धान्त लिएको पनि जानकारी पाइएको छ । छत्तिसगढका मुख्यमन्त्री डा० रमणसिंहले सन् २०१३मा हिन्दी संस्करणको भब्य लोकार्पण गरेका थिए भने महाराष्ट्रका राज्यपाल श्रीचन्द्र विद्यासागर राव र महाराष्ट्रकै शिक्षामन्त्री श्रीविनोद ताउडेका बाहुलीबाट २४ अक्टोवर सन् २०१५ मा एक विशिष्ट आयोजनमा माराठी संस्करणको लोकार्पण भएको थियो । त्यसैगरी गुजराती र बङ्गला पनि क्रमैसँग १६फरवरी सन् २०१६ र ५ जुलाई सन् २०१९मा गुजराट र पश्चिम बङ्गालका राज्यपालद्वयद्वारा विमोचन गरिएको हो । नेपाली संस्करण वि सं २०६९ मा अति सुन्दर र आकर्षणीय आकारमा निकालेको छ । त्रिभुवन विश्वविद्यालयका अङ्ग्रेजीका प्राध्यापक डा० गोविन्दराज भट्टराईद्वारा गरिएको नेपाली अनुवाद “पूर्वीय सभ्यता – विश्व विख्यात विद्वानहरुको दृष्टिमा ” सहज, सरल र एकदमै आकर्षित ढङ्गमा भएको छ ।
सर्जक ज्ञवालीका हालसम्म मूल सत्रवटा कृति प्रकाशित भइसकेकाछन् भने प्रकाशोन्मुख कृतिको सूची पनि उत्तिकै लामो छ । तिनका केही पुस्तकहरू निकै नाम कहलाइएका प्राइभेट एवम सरकारी स्कूलमाहरूमा पाठ्यपुस्तककारूपमा प्रयोग गरिएका छन् भने त्यस्तै केही पुस्तक मेघालय सरकारको मेघालय शिक्षा परिषदले पाठ्यपुस्तककारूपमा स्वीकृति प्रदान गरेको छ । सलील ज्ञवाली ‘इन्टर न्याशनल ओरगेनाइजेशन अव जोर्नेलिष्टका’ एक अन्यतम् सदस्यपनि हुन् । पहिलेको असम वर्तमानको मेघालयको राजधानी शहर प्रकृतिकी रानी शिलाङमा जन्मी हुर्की त्यहीं अङ्ग्रेजी साहित्यमा एम. ए. गरेका ज्ञवाली विगत उन्नाइस-सय असिको दशकदेखि लेखनकार्य प्रारम्भ गरेका हुन्। उनका उच्चकोटीका रचनाहरू स्थानीय , राष्टिय र अन्तराष्ट्रिय पत्र-पत्रिकाहरूमा प्रसस्त निस्किरहने गर्छन । ‘ग्रेट माइन्डस अन इण्डिया’ ज्ञवालीजीको बाइस वर्षे कठोर परिश्रमको फसल हो । यो कृतिलाई पाठकसामु पुर्याउन कत्ति पुस्तकका पन्ना पल्टाउँदै कत्ति कपि कोर्दै पसिना चुहाउनु पर्यौ, सो कुरा स्वयं ज्ञवालीजीलाई मात्र थाहा होला
। सलील ज्ञवालीको प्राचीन भारतवर्ष र भारतीय सभ्यता, दर्शन, संस्कृति, वेद-उपनिषद आदि सम्बन्धमा विश्वका अग्रपङ्त्तिका दार्शनिक, वैज्ञानिक, लेखकले व्यक्त गरेका उद्गारहरूको संकलन गर्ने बाइस वर्षे अविरल परिश्रम अन्तिममा सन् २००९ मा सार्थक बन्न पुग्यो, जब मेघालयका तत्कालीन राज्यपाल आर एस मुसाहारीले एक भव्य अनुष्ठानमा यै कृतिको लोकार्पण गरे । पेङ्गुइन बुक्सजस्तो अन्तराष्ट्रिय प्रकाशनले निकालेको यो ग्रन्थको गेटअप र भित्रिभाग दुबैपट्टि अति नै सुन्दर भएको छ । प्रकृति-प्रदत्त ज्ञवालीको बहु समादृत ग्रन्थ “ग्रेट माइन्डस अन इण्डिया” मौलिक कृति नभएर पनि यो भारतीय विशिष्ट ज्ञान-गरिमा विषयक एक उच्चकोटीको सङ्कलित कृति हो जसमा पूर्वीय र पश्चिमेली मुलुकका सर्वमोठ चोरासीजना मुर्धन्य ज्ञाताहरूले भारतीय पौराणिक सभ्यतावारे आ-आफ्ना मनमस्तिष्कभित्र विभिन्न समयमा टुसाएका उद्गारहरू व्यक्त गरिएको यो पुस्तक जब पढिन्छ तब भारतीय वैदिक दर्शन र ज्ञान-गरिमाको अपार महिमावारे बुझेर मन आलोकित हुन्छ ।
ज्ञानसागरभित्र डुबुल्कि मारेर मन तृप्त हुन्छ । पौराणिक भारतीय वाङ्गमय र यहाँका ऋषिमुनि र स्रष्टाहरूको अनुपम सृष्टि विश्वदर्वारमा अद्वितीय रहेछ र अझै रहेको छ भन्ने कुरा पश्चिमेली विद्वानहरूले बोलेको यस कृतिमा स्पष्टरूपले देखिन्छ । विज्ञान र आजको नवीनतम सृष्टिको आधारको मूलस्रोत वैदिक ज्ञान र वैदिक साहित्यबाटै आत्मसातगरी पश्चिमेली मूलुकले प्रयोगको दिशातर्फ अग्रगामी भएको कुराको पुष्टि ज्ञवालीका यस कृतिले गरेको छ । माथि उल्लेख गरिएका चौरासीजना विद्वानहरू मध्ये छ जना भारतीय , दुईजना चिनीया ,एकजना जापानी र एकजना अष्ट्रेलियन हुन् भने रहलजम्मै अमेरिकी र युरोपेली रहेका छन् । छ जना भारतीय विद्वानहरू स्वामीविवेकानन्द , महात्मा गान्धी, श्रीअर्विनादो, डा० सर्वपल्लीराधाकृष्णन, पं जवाहरलाल नेहरु र डा० ए पि जे आब्दुल कालामहरूकोपनि अभिव्यव्क्ति यहाँ सङ्कलित गरिएको छ । सलील ज्ञवालीको ‘ग्रेट माइन्डस अव इण्डिया’ ग्रन्थमा भारतवर्ष र भारतीय सन्दर्भमा विश्ववरण्य व्यक्तित्वले व्यक्तगरेका केही सङ्कलित अभिव्यक्तिहरू यहाँ डा० गोविन्दराज भट्टराईको पूर्वीय सभ्यताबाट साभार गरिएको छ । फ्रान्सका प्रसिद्ध दार्शनिक भोल्तेअर यसो भन्छन्—“ म विश्वस्थ छु — हाम्रामा सबैकुरा गङ्गाजीको तटबाटै प्राप्त भएका छन् ।“ फान्सकै अर्का एकजना वैज्ञानिक सिल्भाइन वैलीको भनाइ यस्तो छ —-‘ हिन्दुहरूको खगोल शास्त्र विश्वकै प्राचीनतम् विद्या हो ।‘ अगष्ट विलहेल्म स्लेगेल भन्छन् – ‘युरोपेलीहरूको उच्चतम दर्शन वेदान्तको तुलनामा एक निस्तेज फिलिङ्गोजस्तो मात्र देखिन्छ ।’ सर्वाधिक जनप्रिय अमेरिकी कवयित्री इला व्हीलर लेख्छिन् —- ‘भारतवर्ष वेदहरूको भूमि हो। ती उल्लेख्य कर्महरूमा पूर्णजीवनको निमित्त धार्मिक कर्महरूमात्र छैनन्, अपितु त्यहाँ यस्ता सत्य पनि छन् जसलाई विज्ञानलेपनि सत्य प्रमाणित गरेको छ । विद्युत् , रेडियम, इलेक्ट्रनिक्स, हवाइजहाजजस्ता साराकुरा ती द्रष्टालाई थाहा थियो । जसले वेदको रचना गरे ।‘ अल्बर्ट आइन्स्टाइन भन्छन् —— ‘हामी पूर्वीय ज्ञान प्रति चिरऋणी छौं किनकी उनीहरूले हामीलाई गणित सिकाए , त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन। ‘ यी हुन् प्राचीन भारतवर्ष र भारतवर्षीय ज्ञान गरिमा विषयक सामान्य केही उदाहरणहरू। वेद, उपनिषद , पुराण, ज्योतिषशास्त्र र गीताजस्ता अनुपम रचना यहाँ र यहाँकै सन्तानले सृष्टि गरे । महाभारत र रामायणजस्ता विश्वकै ठुला र श्रेष्ठ महाकाव्य यस भूमि कै उपज हुन्। प्राचीन भारतवर्षमा जस्ता (जिंक) लाई गलाउन, विलय गर्न सक्ने ज्ञान भएको कुरा पढ्न पाइन्छ । तर आज विश्वका जम्मै ज्ञान पिपाशुहरूलाई अथाह ज्ञानले तृप्त र आश्चर्यचकित पार्ने त्यो भारतवर्ष निस्तेज भएको छ ।
प्राचीन ग्रन्थहरू भनौ हाम्रा धरोहरहरू वर्तमानमा अवहेलित अवस्थामा छन् । हामी अत्याधुनिक हुने होडबाजीमा प्राचीन भारतवर्षीय अद्वितीय सृष्टिहरूको अध्ययन, मनन, चिन्तन र विश्लेषण गर्न छाडेका छौं । यस कृतिमा फिलिपिन्सकी प्रख्यात लेखिका मेरिया कृष्टिना बेजार लेख्छिन —–‘जब म भारतीयहरूलाई आफ्नै वैभवशाली अतितबाट प्राप्त भएको, आफ्नै पवित्रभूमिबाट निःसृत ज्ञानभण्डारबारे अनभिज्ञ भएको देख्छु त्यसबेला म सार्ह्यै नै विचलित औ व्याकुल हुन्छु । मेलै मुश्किलले उच्च आधुनिक शिक्षा हासिल गरेका शिक्षित भारतीय भेट्न सकेकी छु जसले भागवद्गीता आदि पनि अध्ययन गरेका हुन् ।’ आजको यस्तो एक जटिल समयमा पूर्वाञ्चल भारत, शिलाङ्का हाम्रा स्रष्टा, पत्रकार, चिन्तक श्री सलील ज्ञवालीजीको यस पुस्तकले हामी भायतीय विभिन्न भाषाभाषी समग्र जनजीवनमा एक सांस्कृतिक , आध्यात्मिक र भौतिक आलोका ल्याउँन सक्षम हुनुहुन्छ भन्ने कुरामा म अटल विश्वास राख्नसक्छु ।



