अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसले सोमबार आफ्नो सिंगापुर भ्रमणको सुरुवात गरेकी छिन् । उनले सोमबार देशका शीर्ष नेतासँग भेटघाट गरिन् ।
दक्षिण पूर्व एशियाको भ्रमणमा निस्किएकी ह्यारिसको उद्देश्य साइबर खतरा, आपूर्तिमा बाधा र कोभिड–१९ महामारीसँग जुध्नका लागि मार्गको खोजी गर्नु हो ।
राष्ट्रपति जो बाइडेन प्रशासनको यो मुद्दा शीर्ष प्राथमिकतामा समावेश छ । ह्यारिसले यतिबेला सिंगापुरका प्रधानमन्त्री ली सीन लूंग र राष्ट्रपति हलिमा याकूबसँग भेटघाट गरिन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको उद्देश्य यो क्षेत्रमा साझेदारीसहित सम्बन्ध बलियो बनाएर चीनको बढ्दो आर्थिक र सुरक्षा प्रभावसँग जुध्नु हो ।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बैठकको जानकारी साझा गर्दै ह्यारिस सोमबार बेलुका प्रधानमन्त्री लीसँग एक पत्रकार सम्मेलन गर्नसक्ने जानकारी दिए ।
यसबाहेक उनले चांगीनेवल बेस र यूएसएस टुल्सा कम्ब्याट शीपको पनि भ्रमण गर्नेछन् । सिंगापुर अमेरिकाको सन्धि साझेदार होइन तर यो क्षेत्रमा ऊ यसको बलियो सुरक्षा साझेदार हो जोसँग गहिरो व्यापारिक सम्बन्ध पनि छ ।
यद्यपि, उसले अमेरिका र चीनसँगको सम्बन्धमा पनि तालमेल राख्नुपर्छ ताकि उसले कसैको पनि पक्ष लिएको नदेखियोस् । उत्तर पूर्व एशियामा यो देशसँग सबैभन्दा ठूलो बन्दरगाह छ ।
यसै स्थानमा चीन लगातार आफ्नो दबदबा बनाइरहेको छ । ह्यारिसको यो क्षेत्रमा सात दिवसीय भ्रमणका बेला यो मुद्दा मुख्य रुपमा छाइरहनेछ । यतिबेला ह्यारिस भियतनामको भ्रमणमा पनि जानेछिन् ।
दक्षिण चीन सागरको मुद्दा पुनः छाउनेछ ?
एक वरिष्ठ अमेरिकी अधिकारीले बैठकपछि दुबै देश क्षेत्रमा ‘सामान्य सुरक्षा चुनौती’ को सामना गर्नका लागि प्रतिबद्ध भएको बताए ।
एक अधिकारीले भने, ‘हामी साझेदारहरुलाई सकारात्मक कारणले आपसी हितका लागि विकसित गर्ने कोसिस गरिरहेका छौं । हामीले यो पनि भनिसकेका छौं कि हामी दक्षिण चीन सागरमा मुक्त नौपरिवहनको स्पष्ट सिद्धान्तका लागि खडा छौं । हामी पनि कुनै संघर्षको खोजीमा छैनौं ।’
दक्षिण चीन सागर एक रणनीतिक समुद्र मार्गबाहेक सम्भावित तेल र ग्यासजस्ता प्राकृतिक खनिजले भरिपूर्ण छ र यसमा चीन, भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया र ब्रूनेईले आ–आफ्नो दाबी गर्दै आएका छन् ।
यो भ्रमणमा एकपटक पुनः दक्षिण सागरको मुद्दा तात्ने अनुमान गरिएको छ । चीन दक्षिण चीन सागरको विषयमा सधैं गम्भीर रहँदै आएको छ ।



