दैनिक कोभिड संक्रमितहरुको बढ्दो संख्या, स्वास्थ्य क्षेत्रमा परेको उच्च दवाव र सम्बन्धित प्रान्त सरकारको आग्रहलाई मध्ये नजर गर्दै, वास्तवमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था हो या होईन भन्ने विषयमा केहि दिनयता प्रधानमन्त्री सुगासंगै कोभिड माहमारी नियन्त्रण विभाग प्रमुख, स्वास्थ्य मन्त्री, अर्थमन्त्री तथा सम्बन्धित विज्ञहरुसंग विभिन्न चरणको छलफल एवं बैठकहरु आयोजना गरिएको थियो । सम्बन्धित सरोकारवाला सबै निकायसंग छलफल गरिसकेपछि सरकारले बुधबार ,आजबाट ८ ओटा प्रान्तमा आपतकाल थप गर्ने निर्णय गरेको थियो ।
आजबाट,टोकियो लगायतका हाल आपतकाल कायम १३ वटा प्रान्तहरुमा अब होक्काईदो, मियागी,गिफु,मिए,सिगा, ओकायामा, हिरोशिमा र आईची सहित ८ वटा प्रान्तहरुमा पनि थप भएका हुन् ।
आजबाट, टोकियो,साईतामा, चिबा, खानागावा, ओकिनवा,ओसाका, ईबाराकी, तोचिगी,गुन्मा,सिजुओका,क्योतो, ह्योगो,फुकुओका होक्काईदो, मियागी,गिफु,मिए,सिगा, ओकायामा, हिरोशिमा र आईची प्रान्तमा आगमी सेप्टेम्बर १२ तारिखसम्मको लागि आपतकाल कायम रहनेछ ।
अन्तर्राष्ट्रिय यात्रा सहजताको हल्लाहरु:
बिस्तारित आपतकाल,दैनिक बढ्दो संक्रमित संख्या लगायतका विविध कारण, अन्तर्राष्ट्रिय यात्रा सहज हुन अझै समय लाग्ने देखिन्छ । पछिल्ला दिन केहि, सामाजिक संजाल तथा केहि न्युज पोर्टलहरुले नेपाल जापान यात्रा सुचारु, छिट्टै खुल्ने सम्भावना जस्ता शिर्षकका समाचारहरु प्रकाशन गरेको भन्दै जापान फर्कने तथा नयाँ भिसामा आउने प्रतिक्षामा रहेका नेपाली दाजुभाई/ दिदि बहिनीहरुले नेपालन्युजपोस्टलाई सोधिरहनुभएको छ । वास्तवमा नेपालबाट जापान आउने सवालमा अहिले कुनै नयाँ परिवर्तन भएकै छैन । यस अघिकै प्रावधान बमोजिम एईजु,तेईजु,जापानी नागरिक तथा उनिहरुको परिवारहरु तथा विशेष मानविय परिस्थितिहरुमा रहेका व्यक्तिहरु भन्दा बाहेक आउन पाउने कही कतै औपचारिक सुचना जारी भएको छैन । त्यसैले केहि व्यवसायिक लाभबाट प्रेरित अनलाईन तथा ट्राभल एजेन्सीका सामाजिक संजालहरुमा राखिएको सुचनाहरुको भ्रममा नपर्दा बेस हुनेछ । केहि नयाँ निर्णय भएमा हामी नेपालन्युजपोस्टडटकममा सत्य/तथ्य प्रस्तुत गर्नेछौँ, हाम्रा सामाग्रीहरु हेर्दै गर्नुहोला ।



