एजेन्सी । अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाइने भएको छ।
हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ। उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।
‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो (ट्रायल ड्रग) सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखिएन भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ।
२ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको थियो ।
परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।
१६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ।
अमेरिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएका छन् ।
नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ ।



