श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । रङ्गशालाबाट घरतर्फ गइरहेका बेला उनीहरूलाई मंगलबार बेलुका हात्तीले आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् ।
हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रङ्गशालामा कार्यरत उनीहरू दुवै जना पुरुष हुन । उनीहरूलाई एउटै हात्तीले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तीको आतङ्क हुने गरेको ठाउँ हो ।
जङ्गली तथा ग्रामीण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ती र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरूले बताएका छन् ।रङ्गशालाका कर्मचारीहरू यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमी फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए ।



