मागी विवाह भएको ४० दिनपछि पहिलोपटक भेटेका पतिले कुमारीत्व परीक्षण गर्न आदेश दिएपछि ताजकिस्तानकी १८ वर्षीया एक युवतीले आत्महत्या गरेकी छन ।
ताजकिस्तानकी १८ वर्षीया रजाब्बी खुरसिदले २४ वर्षीय पति जफर पिरोभको कुमारित्व परीक्षणको आदेशपछि आत्महत्या गरेकी हुन ।
स्थानीयबासीको भनाई उधृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार खुर्सिदले मागी विवाह भएको ४० दिनपछि पहिलोपटक पति जफरलाई भेटेकी थिइन ।
तर, भेटमा जफरले पुनः कुमारीत्व परीक्षण गर्नुपर्ने अन्यथा दोस्रो विवाह गर्ने निर्णय सुनाएका थिए । पतिको सो आदेशपछि रजाब्बीले अत्यधिक ‘भिनेगर’ पिएर अत्महत्या गरेको पाकिस्तानी अखवार डेलिमेलले जनाएको छ ।
आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा अहिले जफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रजाब्बीको मृत्युपछि सरकारी पोस्टमार्टममा उनको कौमार्यसमेत परीक्षण गरिएको थियो ।
दुई चरणको कौमार्य परीक्षणमा रजाब्बी कुमारी नै रहेको देखिए पनि यी दुबै परीक्षणलाई जफरले विश्वास गरेका छैनन ।

‘रेडियो फ्रि युरोप’काअनुसार रजाब्बी परिवारले उनका छोरीलाई विवाहपश्चात् जफरले दोस्रो विवाह गर्नका लागि निकै दबाब दिएका थिए । तर, जफरले यो भनाईलाई अस्वीकार गरेका छन ।
‘मेरो श्रीमतीले मलाई दोस्रो विवाहको लागि लिखित अनुमति दिएकी थिइन् । किनभने उनी कुमारी थिइनन् र उनको अरुसँगै सम्बन्ध रहिसकेको थियो,’ जफर भन्छन ।
रजाब्बीकी आमा फजिला मिर्जोइभाले भने छारी हिंसाको नराम्रो शिकार भएको बताएकी छन । ‘मेरी छोरी बदनामी र हिंसाको शिकार भएकी छन् ।
मैले राष्ट्रपति इमोली रहमोनसँग मद्दतका लागि अनुरोध गरेकी छु,’ उनी भन्छिन । उनले रजाब्बीको कोही केटासंँग यौनसम्बन्ध नभएको दाबी गरिन ।
‘रजाब्बीले सधैं आफ्ना दुई अपांग दाइलाई हेरचाह गर्ने गर्थिन,’ उनले भनिन । जफरले श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको प्रमाणित भएमा ८ वर्ष जेल सजाय हुने प्रहरीले बताएको छ ।

ताजकिस्तानमा विवाहअघि हुनेवाली श्रीमतीको कुमारीत्व परीक्षणलाई धार्मिक तथा सामाजिक मान्यता छ । यसलाई सामान्य मानिने गरिएको छ ।
तर, सन् २०१५ यता सरकारले केटीको मात्र नभइ केटाकोे समेत विवाहअघि अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम ल्याएको छ । यसैको गलत फाइदा उठाएर युवतीहरुलाई शुद्धता परीक्षणको नाममा कुमारीत्व परीक्षण गरिन्छ ।
विवाहअगाडि रजाब्बीले पनि कुमारीत्व परीक्षण गरेको मेडिकल रिपोर्ट जफरलाई देखाइएकी थिइन् । उक्त रिपोर्टमा रजाब्बी कुमारीत्व परीक्षणमा सफल भएकी थिइन् ।
तर, विवाहपछि जफरले अर्को विवाहका लागि रजाब्बीलाई पुनः परीक्षण गर्न दबाब दिएको बताइएको छ । ताजकिस्तानको सर्वोच्च अदालतमा सन् २०१४ देखि हालसम्म महिलाको कुमारीत्व परीक्षणसम्बन्धी ६ सय मुद्दाको फैसला भएको छ ।



