भारत । भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको छ,” मन्त्रालयले भनेको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । रासस/एएनआई



