रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फोनमा कुराकानी गरेका छन् ।
यस कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ किनकि दुवै देश फरक फरक मोर्चामा गतिरोध सामना गरिरहेका छन् ।
युक्रेन नेटोको सदस्य बन्न लागेको भन्दै रुसले युक्रेन सीमा नजिक एक लाख सैनिक तैनाथ गरेको छ । टर्कीले युक्रेनलाई हतियार बेचेको भनेर रुस रिसाएको पनि छ ।
त्यो हतियार युक्रेनले पूर्वी क्षेत्रका रुससमर्थित पृथक्तावादीहरूमाथि आक्रमणका लागि उपयोग गर्न सक्ने डर रुसलाई छ । टर्की नेटोको सदस्य पनि हो र उक्त संगठनमा दोस्रो शक्तिशाली सेना उसैको छ ।
पुटिनले टर्कीमा बनेको ड्रोन तैनाथ गरेकोमा युक्रेनको आलोचना गत महिना गरेका थिए । सन् २०२१ को अक्टोबर महिनामा युक्रेनले पृथक्तावादीहरूविरुद्ध ड्रोन उपयोग गरेको थियो ।
रुस र युक्रेन दुवैसँग टर्कीको राम्रो सम्बन्ध छ । तर युक्रेनको नियन्त्रणमा रहेको क्राइमियालाई रुसले खोसेकोमा टर्कीले विरोध गर्ने गरेको छ ।
ड्रोन बेचेको विषयमा आलोचना भएपछि टर्कीले रुसलाई जवाफ फर्काएको थियो । कुनै देशले टर्कीको हतियार किनेमा त्यसलाई टर्कीको उत्पादनका रूपमा नलिई उक्त देशको हतियारका रूपमा बुझ्नुपर्ने टर्कीको भनाइ थियो ।
एर्दोआन र पुटिनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा चर्चा गरेको जानकारी टर्कीको समाचार संस्था अनादोलूले दिएको छ ।
अमेरिका र नेटोले रुसलाई सुरक्षा ग्यारेन्टी दिएमा युक्रेन तनाव समाप्त हुने कुरा पुटिनले एर्दोआनलाई बताइएको जानकारी रुसको राष्ट्रपति कार्यालयले दिएको छ ।
पुटिन र एर्दोआनबीच ककेसस, सिरिया र लिबिया लगायतका क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ ।
टर्की र आर्मेनियाबीच ककेसस क्षेत्रमा स्थिरताका विषयमा हुने कुराकानीमा मध्यस्थता गर्न सक्ने प्रस्ताव रुसले राखेको थियो ।
फोनमा कुराकानीका क्रममा दुई राष्ट्रपतिले लाभाको साझेदारीलाई अघि बढाउन सहमति जनाएका छन् ।



