अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी भएको आरोप लगाएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान कंग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणका लागि आफ्ना पूर्ववर्ती जिम्मेवार भएको आरोप लगाएका हुन् । बाइडेनले भने‚ ‘हाम्रो इतिहासमै पहिलो पटक एक राष्ट्रपतिले चुनावमात्र हारेका थिएनन्‚ उनले हिंसात्मक भीड क्यापिटलमा पुर्याएर शान्तिपूर्ण रूपमा हुन लागेको सत्ता हस्तान्तरण रोक्न असफल प्रयास समेत गरे । हामी सबैले यस्तो आक्रमण अब कहिल्यै नदोहोरियोस् भन्ने कामना गरौँ ।’
बाइडेनले के साँचो र के झुटो हो भन्नेबारे सबै जना स्पष्ट हुन जरुरी रहेको बताउँदै जसले सिद्धान्तभन्दा शक्तिलाई महत्व दिन्छ‚ उसका लागि अमेरिकाको हितभन्दा निजी स्वार्थ बढी महत्वपूर्ण छ भन्ने बुझ्नुपर्ने बताए । ‘त्यस्तै व्यक्तिबाट यस्ता हर्कतहरू हुने गर्छन्‚’ उनले भने ।
ट्रम्पविरूद्ध टिप्पणी गर्दै बाइडेनले भने‚ ‘उहाँ आफूले हारेको स्वीकार्नुहुन्न । ९३ जना सिनेटर, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले उहाँ हार्नुभएको स्वीकारे तर उहाँ अझै सो कुरा स्वीकार्न चाहनुहुन्न ।’



