ब्राजिलले ५ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान शुरू गरेको छ ।
यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले ५ देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।
यो खोप बालबालिकाको लागि खोप लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ । नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् ।
यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताएका छन् ।
ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान शुरू भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् । -रासस/एएनआई
एजेन्सी



