पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतले द्विपक्षीय मुद्दाको छायाँमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई असफल पार्ने प्रयास गरेको बताउनुभएको छ ।
मालदिभ्सको राजधानी मालेमा समकक्षी अब्दुल्ला यमिन अब्दुल गैयुमसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सरिफले भारतीय भूमिकाकै कारण सार्क कमजोर भएको बताउनुभएको हो ।
क्षेत्रीय संगठनहरुको भावनाको अवमुल्यन गरेको भारतले आफ्नो निहित सामरिक स्वार्थका लागि सार्कलाई पनि कमजोर बनाएको उहाँको विश्लेषण थियो । मालदिभ्सको स्वतन्त्रता दिवसको समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्री सरिफ माले पुग्नुभएको हो । मालदिभ्सको ५२ औं स्वतन्त्रता दिवस बुधबार मनाइयो ।
‘गत बर्ष इस्लामाबादमा आयोजना गरिएको सार्क सम्मेलनलाई स्थगित गराएर भारतले सार्कलाई हानी पुर्यायो’ उहाँले भन्नुभयो, ‘सार्कको मंचलाई भारतले अवरोध गरेको यो पहिलो पटक भने होइन, भारतले चारपटक यस्तो गरेको छ ।’
पाकिस्तानी समाचार एजेन्सी एपीपीले प्रधानमन्त्री सरिफलाई उद्धृत गर्दै बहुपक्षीय फोरमलाई द्विपक्षीय विवादको बिषय जस्तो बनाएर भारतले योजनाबद्ध रुपमा औचित्य समाप्त गर्न खोजेको बताउनुभएको उल्लेख गरेको छ । ‘इस्लामाबादको शिखर सम्मेलनका सन्दर्भमा राष्ट्रपति यमिनको सहयोगप्रति हामी आभारी छौं’ उहाँले भन्नुभयो ।
भारतीय प्रवृतिको बिरोध गर्दै दुबै सरकार प्रमुख सार्कलाई ‘गतिशील संगठन’ बनाउन सहमत भएका छन् । गत बर्ष इस्लामाबादमा तय भएको सार्क शिखर सम्मेलन भारतको नेतृत्वका अफगानिस्तान, भुटान र बंगलादेशले सहभागि नहुने निर्णय गरेपछि स्थगित भएको थियो ।
पाकिस्तानी सिमाबाट भारतीय सैनिक क्याम्पमा भएको आक्रमणलाई लिएर भारतले आंतकबादलाई प्रायोजन गरेको आरोप लगाउँदै सम्मेलनमा सहभागि हुन नसक्ने जनाएको थियो ।



