काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
उहाँ आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउनुहुनेछ ।
तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी गरेको छैन ।
नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गर्नुभएको थियो । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।



