बार्सिलाेना- भीडले भरिएको व्यस्त स्थलमा स्पेनको पर्यटकीय शहर बार्सिलोनाको मुटु ला राम्बासमा आतंककारीले अन्धाधुन्ध भ्यान चलाउँदा तेह्र जनाको ज्यान गएको छ भने सय भन्दा बढी घाइते भएका छन्। बेलुकी ५ बजेतिर भएकाे उक्त घटनालार्इ स्पेन सरकारले अातंककारी हमला भनेकाे छ। प्रहरीले झण्डै ५० जना अन्य घाइते भएको जनाएका छन्। प्रहरीले बिहीबार अपरान्ह गरिएको सो हमलाको सिलसिलामा एकजनालाई पक्राउ गरिएको बताएका छन्।
प्रहरीले हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेका छन् ।उनी मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताइएको छ।
प्रहरीले मानिसहरुलाई लास राम्बलास क्षेत्रबाट टाढै रहन अपील गरेका छन् ।
यसैबिच, विश्व नेताहरुले बार्सिलोनामा गरिएको हमलाको निन्दा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों, ब्रिटिश प्रधानमन्त्री टरीजा मे लगायतका नेताहरुले सो हमलाको कडा निन्दा गरेका छन्।
युरोपेली आयोगका अध्यक्ष जँ क्लद युङ्करले भने, “हामी यस्तो जँगली कृत्यबाट कहिल्यै पनि भयभीत हुनेछेनौं।”
नेपालीहरू सुरक्षितः एनआरएनए स्पेन
घटनाकाे समयमा घटनास्थल वरपर व्यापार गरेर बसेका करिव १५ नेपाली रहेकाे र उनीहरू सुरक्षित रहेकाे एनअारएन स्पेनले जनाएकाे छ।
बार्सिलोनामा आतंककारी हमला हुँदा गर्दा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको बैठक चलिरहेको थियो। स्पेनमा बाढीपीडितहरुका लागि संकलित रकम नेपालमा कसरी पठाउने बारे छलफल भइरहेका बेला यस्तो घटना भएको छ ।
घटनापछि तत्कालै एनआरएन स्पेनको कार्यलयबाट नै त्यस वरपर रहेका नेपालीहरुसँग सम्पर्कको प्रयास भएको संघले जनाएको छ। लगत्तै संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाप्रति दुख व्यक्त गर्दै सबै नेपालीहरु सुरक्षित रहेको सूचना जारी गरेका छन्।
बार्सिलोनामा मात्रै झन्डै ४ हजार नेपालीहरुको रहेको अनुमान छ। प्रमुख पर्यटकीय क्षेत्र भएकाले पनि यहाँस्थित नेपालीहरु सानासाना पसलदेखि रेष्टुराहरुका काममा समेत व्यस्त हुने गरेका छन्। उनीहरूमध्ये कोही हताहत भए नभएको बारे बुझ्ने प्रयासलाई भने संघ संस्थाहरुले जारी राखेका छन्।



