शिवराज योगी

नाम ऋतु । अहिलेसम्म वसन्त आएको छैन उनको जीवनमा । समय फेरिएर कुनै दिन जीवनमा बहार सुरु हुने अपेक्षामा छिन्, ऋतु चौधरी । पेसा रहर, अवसर र करले गरिन्छ । ऋतु डान्स बारकी असल नृत्यांगना हुन् । बारुले कम्मर, लरक्क कपाल, सर्लक्क अग्लो ज्यान लिएर उनी स्टेजमा उक्लन्छिन् । आगन्तुकहरू हुरुक्क हुन्छन् । हुटिङ सुरु हुन्छ । यो हुटिङले उनलाई हर्ष र विस्मात् दुवै हुँदैन ।

‘घरेलु कामदार बनेर जीवन नचल्ने देखेपछि यता लागेकी हुँ’, पश्चिम नेपालकी ऋतुले भनिन्, ‘साथीको सम्पर्कमा यहाँ जागिर सुरु गरेँ ।’ बेलिज डान्स बारमा काम थालेको उनलाई पुगनपुग आधा वर्षमात्रै भएको छ । रात्रि दुनियाँका बारे अनभिज्ञ उनी विस्तारै यो संसारमा भिज्दैछिन् । ‘आफू ठीक भए दुनियाँ ठीक हुन्छ कि भन्ने विश्वास अझै बाँकी छ’, उनले हैरानी पनि पोखिन्, ‘तर कहीँ न कहीँ अप्ठ्यारा रहेछन् ।’

नेपाली नारीहरूको महान् पर्व तीजको मझेरीमा उनी पनि छन् । जागिरे जिम्मेवारीले आम नारी, चेलीजस्तै उनीसँग दर खाने, आफन्त, साथीभाइकहाँ रमाइलो गर्न जाने अवसर भने छैन । ‘अबेर राति यतै हुन्छ, मध्याह्नतिर मात्रै उठिन्छ’, उनले भनिन्, ‘हाम्रो त बिहानको नित्यकर्म पनि दिउँसो पो हुन्छ।’

ऋतृजस्तै भावना बीकेको दैनिकी पनि यस्तै चलेको छ । जागिर गर्ने, तलब थाप्ने भन्नेमात्रै रात्रि जीवनमा नहुने उनले यो क्षेत्रमा प्रवेश गरेको थोरै दिनमा ठम्याइसकेकी छन् । ‘रात छिप्पिँदै गएपछि ग्राहक झन् मात्दै जान्छ, स्टेजको दृश्य झन् भड्किलो बन्छ’, भावनाले भनिन्, ‘कसैले आँखा सन्काउने, कसैले पाखुरा निचोर्न खोज्ने त कोही हुस्स गन्हाएको मुख मुखमै जोड्न खोज्छन् ।’ कतारमा पाँच वर्ष जागिरे जीवन गुजारेकी उनी त्यहाँ घरेलु कामदार थिइन् ।

अर्काको देशमा कसैको घरभित्र कुँजिएर बस्नुभन्दा आफ्नै मुलुकमा खुला रूपले काम गर्न यता पुगेकी भावनालाई यो दुनियाँ त्यति सहज लागेको छैन ।
तीजको मौकामा भने उनी समय मिलाएर दिदीबहिनीसँग नाचगान गर्ने, दर खाने र पञ्चमीको व्रत बस्ने सुरमा छिन् । अरूको जति उन्मुक्त र एकाबिहानैदेखि अबेर बेलुकीसम्म तीर्थ व्रतको समय नभए पनि समय मिलाउने कोसिसमा भने ऋतु छिन् ।

हरेक दिन सुन्धाराको गाजलु आँखा डान्स बारमा बियर र जवानी पस्किएर दर्शक रिझाउन बानी परेकी धादिङकी नीरु भने तीज मनाउने मुडमा छैनन् । काँचै उमेरमा विवाह गरेकी उनी यति बेला एक सन्तानकी आमा हुन् । सधैं जाँडले धुत हुने उनका श्रीमान् कहिल्यै उनका सुखदुःखका साथी भएनन् । ‘कसको दीर्घायु र कुन सौभाग्यका लागि व्रत बस्नु’, नीरूले भनिन्, ‘मन खुसी भए पो नाच्ने, गाउने, रमाउने । पापी पेटका लागि त हरेक दिन नाचेकै छु, चिमोटिएकी त छु नि ।’

ऋतु, भावना, नीरूहरूजस्ता हजारौं छोरीचेली रात्रि जीवनमा छन् । उनीहरू रात्रि जीवनको आनन्द लिनेका लागि माध्यम बनेका छन् । तर, वर्ष दिनभरि ह्विस्की, बियर र रमको दुर्गन्धमा आफूलाई समाहित गरेर पनि तीजको एक दिन धूप, दीपको सुगन्धमा भिजाएर मनोकामनाका लागि आराधना गर्ने कम छैनन्।
‘वर्षभरि ग्राहक र साहूको काम गरे पनि एक दिन मनोकांक्षाका लागि पनि त छुट्याउनु पर्‍यो नि !’, ऋतुले योजना सुनाइन्, ‘मिलेसम्म तीजको एक अघिल्लो दिन बिदा बस्छु, बिहानै उठ्छु, पूजाआजा र मन्दिर जान्छु । भगवान्सँग मनले चिताएको माग्छु ।’

अरूले जस्तै देखासिकी नगरे पनि भएको एउटा सन्तानका लागि नीरू धेरैथोरै आस्था भने राख्छिन् । उनी मनमनै भगवान्लाई छोराको भविष्य आफ्नोजस्तो नहोस् भन्ने पुकारा गर्छिन् । ‘त्यो जति बेला पनि गरिरहेकी हुन्छु, तीजको दिन पनि गर्छु ।’ बल्खुमा आफैं बार सञ्चालन गरेर बसेकी उपासना राई भने तीजको अघिल्लो दिन बेस्सरी दर खाएर तीज मनाउने योजनामा छिन् । ‘काम त वर्षभरि गर्ने हो नि, चाडबाड त मनाउनै पर्‍यो’, उनले भनिन्, ‘साथीभाइ जम्मा गरेर अचार, मासु, बियर, वाइन दरमा खान्छौं, अर्को दिन व्रत बसेर भविष्यका लागि राम्रो होस् भन्ने कामना गर्छौं ।’ अर्को वर्ष वा अर्को चाड नआएसम्म अनेक उल्झन, हरेक थकान सहनु नै पर्ने भएकाले पनि तीजलाई रमाएर मनाउने मुडमा उपासना छिन् ।

तीज आमनेपाली नारीको प्रमुख पर्व हो । परम्परादेखि नै वर्ष दिनमा टाढाटाढाबाट तीजमा माइती भेट्न जाने चलन अहिले सहरबजारमा फेरिएको छ । दिदीबहिनी महिना दिनअघि नै जम्मा हुने र दरको नाममा भोज गर्नेको संख्या बढ्दै गएको छ । रात्रिजीवन जिउने डान्सबारका छोरीचेलीले पनि सकेसम्म र पाएसम्म यो पर्वलाई महत्व दिएको यी प्रतिनिधि पात्रको भनाइले इंगित गर्छ । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah