गोरखाल्याण्ड माग गर्दै दार्जिलिङ बन्द भएको आज ८० दिन भएको छ । झण्डै तीनमहिना लामो बन्दले दार्जिलिङको अवस्था अत्यन्तै दयनिय बन्दै गएको छ । खाद्यान्न अभावले मानिसहरु भोकै मर्ने अवस्था आएको छ भने शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायात लगायत सबै ठप्प हुँदा जनजीवन निकै कष्टकर बनेको छ । केन्द्र सरकारको मौनता, राज्य सरकारको चरम दमनमा उत्रनु र आन्दोलनकारी गार्खाल्याण्ड बाहेक अन्य मुद्धामा सम्झौता नगर्ने अडानले जारी बन्द तत्काल खुल्ने संकेत देखिएको छैन । यसपालीको दशैँ पनि बन्दमै बित्ने अड्कलबाजी गरिएको छ ।
ओर्खाल्याण्ड आन्दोलन चरम बनिरहेका बेला आन्दोलनकारी नै बिभाजित हुन थालेका छन् भने पश्चिम बंगाल सीआईडीले दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा ‘गोजमो’का प्रमुुख बिमल गुरुङ सहित तीन नेताविरुद्ध ‘खोजी सूचना’ जारी गरेको छ। सीआईडीले गुरुङ सहित मोर्चा महासचिव रोशन गिरी र नेता प्रकाश गुरुङलाई पनि खोजी सूचीमा राखेको छ । दार्जीलिङ र कालिङपोङमा बिस्फोटन गराएको र अन्य धेरै घटनामा दोषी रहेको भन्दै उनीहरु विरुद्ध सूचना जारी गरिएको बताइएको छ।
दुई महिना भन्दा लामो समय देखि दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनबारे राज्य सरकारसँग वार्तामा बस्ने÷नबस्ने बिषयमा विवाद भइराखेको छ । आफुसँग कुनै पनि परामर्श नगरि पश्चिम बंगाल राज्य प्रमुख ममता बेनर्जीसँग वार्ता गरेको भन्दै गत बिहिबार मोर्चा प्रमुख गुरुङले वार्ताको संयोजन समेत गरेका पार्टी सहसचिव बिनय तामाङलाई पार्टीबाट निष्काशन गरेका थिए। उनीहरुलाई आन्दोलनकारीले सामाजिक बहिस्कार गरेको भन्दै भेटेमा भौतिक कारबाही गर्ने चेतावनी दिइरहेका छन् । तामाङ नेतृत्वमा गत मंगलवार राज्य सरकार प्रमुख बेनर्जीसँग कोलकातामा पहिलो वार्ता भएको थियो र दोस्रो वार्ता सेप्टेम्बर १२ मा हुने बताइएको छ।
आन्दोलन फिता लिन आग्रह गरेको भन्दै दार्जीलिङ र आसपासका क्षेत्रमा आन्दोलन पक्षधर हजारौंले तामाङ विरुद्ध प्रदर्शन गरेका थिए। दार्जिलिङ आन्दोलन र लगातारको बन्दले सर्वसाधारणको अवस्था दयनिय हुँदा पनि राज्य सरकार टसको मस भएको छैन भने केन्द्र सरकारको मौनता अझै तोडिएको छैन ।



