काठमाडाैँ : ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन अाज हुँदै छ । डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । सन् १८४५ मा सुरु भएको प्रचलन अनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ ।
३३ राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान सुरु भएको र झन्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ करोडले मतदान गर्ने अपेक्षा छ ।
चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वविदेशमन्त्री ६९ वर्षीया हिलारी रोदम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार ‘रियलस्टेट बिलिनियर’ ७० वर्षीय डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुँदै छ । ‘थर्ड पार्टी’ अन्तर्गत लिवर्टरियन पार्टीका तर्फबाट न्यु मेक्सिको राज्यका पूर्वरिपब्लिकन गभर्नर गेरी जोन्सन एवं ग्रीन पार्टीका तर्फ बाट डा. जिल स्टिन पनि ‘ह्वाइट हाउस’ प्रतिस्पर्धामा छन् ।
हिलारी क्लिन्टन महिला राष्ट्रपति बन्ने सम्भावना प्रबल
हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि विभिन्न मत सर्वेक्षणहरूमा हिलारी क्लिन्टन ट्रम्पभन्दा ३ देखि ४ प्रतिशतले अगाडि देखिएकी छन् ।
हिलारी क्लिन्टनलाई इमेल दुरुपयोग काण्डमा संघीय अनुसन्धान ब्युरोले निर्वाचनको ११ दिनअघि सफाइ दिएपछि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रले पहिलो महिला राष्ट्रपति पाउने सम्भावना प्रबल बन्न पुगेको छिन् ।
अमेरिकाका ५० राज्यका कुल ५३८ इलेक्टोरल मतमध्ये २५२ स्प्ष्ट रूपमा क्लिन्टनका पक्षमा देखिएको छ भने ट्रम्पका पक्षमा १६३ इलेक्टोरल मत छ । फ्लोरिडा, नर्थ क्यारोलिना, एरिजोना, ओहायो, न्यू ह्याम्सायरलगायत राज्यका १२३ इलेक्टोरल मत अझै अनिर्णीत छन् ।
निर्वाचनको अघिल्लो दिनसम्मका सर्वेक्षणअनुसार पनि अनिर्णीत देखाएका यी राज्यको अन्तिम परिणाम राष्ट्रपति चयनमा निर्णायक बन्नेछन् । क्लिन्टनको पक्का समर्थक सीएनएनको पछिल्लो सर्वेक्षणले भने उनका पक्षमा अहिलेसम्म २६८ इलेक्टोरल मत स्पष्टै देखिएको उल्लेख गरेको छ भने २०२ मत ट्रम्पका पक्षमा देखाएको छ । ६८ मत भने अझैै अनिर्णीत देखिएको सीएनएनले उल्लेख गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन् २७० इलेक्टोरल मत चाहिन्छ ।
सर्वेक्षणमा आइवा र ओहायोबाहेक हिलारीले बाँकी ‘ब्याटल ग्राउन्ड’ राज्यहरूमा अग्रता लिइरहेकी छन् । धेरै राज्यहरूको सुरुवाती मतदानमा अल्पसंख्यक हिस्पानिक समुदायको मत अत्यधिक खसेकाले क्लिन्टन पक्षधर उत्साहित देखिएका छन् ।
ट्रम्पका चुनाव जित्न असम्भव
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्न सजिलो थिएन । निर्णायक भनिएका सबै राज्यहरू रिपब्लिकनका पक्षमा गएमात्र ट्रम्पका लागि ह्वाइट हाउस प्रवेश सम्भव हुनेछ, जुन लगभग असम्भव छ । ‘ट्रम्पले जित्न असम्भव छ । यसका लागि उनले सबै ‘स्विङ’ राज्यमा विजय प्राप्त गर्नुपर्नेछ,’ थुप्रै मत सर्वेक्षण गरिसकेका स्पेन्सर किम्बल भन्छन् ।



