एजेन्सी, कार्तिक ३० / भारतीय सेनाको गोली प्रहारबाट आफ्ना सात जना सैनिकको मृत्यु भएको पाकिस्तान सेनाले जनाएको छ ।
पाकिस्तान सेनाले जारी गरेको वक्तव्यमा विवादित कश्मिरमा भारतीय सेनाको गोली प्रहारबाट आफ्ना सैनिकहरु मरिएको उल्लेख छ ।
भारतीय सैनिकले बिम्बर क्षेत्रको नियन्त्रण रेखामा गोली चलाएको पाकिस्तानको दाबी छ । तर भारतीय पक्षले पाकिस्तानी क्षेत्रबाट गोली चल्न थालेपछि आफूहरुले जवाफी कारबाही मात्र गरेको दाबी गरेको छ ।
सन् २००३ पछि काश्मिरमा भएको भिडन्तमा पाकिस्तानी सेनालाई एकै पटक भएको यो सबैभन्दा ठूलो नोक्सानी हो । तीन महिना भन्दा लामो समयदेखि काश्मिरमा तनाव छ ।
यसले गर्दा भारत र पाकिस्तानबिचको सम्बन्धमा दरार आएको छ । पाकिस्तान र भारत दुवै पक्षले काश्मिरको विषयमा सन् २००३ मा भएको शान्ति सम्झौताको उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् ।




