
काठमाडौं, २ मंसिर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सामाजिक सञ्जालमा अनावश्यक विषय लेखिँदा समाजमा नकारात्मक असर परिरहेको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो साइटमा विभिन्न प्रकारका विषय ‘बुझी नबुझी पोस्ट गर्दा त्यसबाट समाजमा नकारात्मक असर परिरहेको’ उनले बताएका हुन् ।
‘पहिलो रोग भाइरल हुन्थ्यो, अहिले सामाजिक सञ्जालमा टिप्पणी गरिएका विषय भाइरल हुन थालेका छन्,’ ११औं महानगरीय प्रहरी दिवसका अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बुधबार आयोजित समारोहमा उनले भने, ‘सामाजिक सञ्जाल र विभिन्न पत्रपत्रिकामा आएको टिप्पणीका आधारमा प्रहरी प्रमुखको हेरफेर हुँदैन ।’
प्रहरी कर्मचारीलाई‘हल्लाका पछाडि नलाग्न’ निर्देशन दि“दै प्रहरी महानिरीक्षक अर्यालले ‘बढ्दो सहरीकरणसँगै सुरक्षासँग सम्बन्धित चुनौती सापेक्षित रूपमा बढाएको’ उल्लेख गरे । ‘यसको सामना गर्न प्रहरीलाई महानगरीय अवधारणाअनुरूपको अधिकार प्रदान गर्नुपर्छ,’ उनले भने, ‘उपत्यकालाई सुरक्षित बनाउन प्रहरी संगठनले सेफर भ्यालीको अवधारणा कार्यान्वयनमा जोड दिएकाले महानगरीय प्रहरीको कार्य सोहीअनुरूप मोडल प्रहरीका रूपमा स्थापित भई अन्य कार्यालयले पनि अवलम्बन गर्नुपर्छ ।’
महानगरीय प्रहरी प्रविधियुक्त, दक्ष र साधन स्रोतयुक्त बनाउने संगठनको योजना रहेको चर्चा गर्दै अर्यालले प्रविधि दुरुपयोगबाट बढ्दो साइबर क्राइमलगायतका अपराध नियन्त्रण गर्न प्रहरी अझै सक्रिय हुनुपर्नेमा जोड दिए । मुस्कानसहितको प्रहरी सेवा, प्रहरी हाम्रो साथीलगायतका कार्यक्रमले‘प्रहरी सेवा आमनागरिकको हक र अधिकार हो’ भन्नेतर्फ सजग गराएको उनको दाबी छ ।
राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मीले महानगरीय प्रहरीको कार्यले राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मै नेपाल प्रहरीलाई चिनाउने प्रयास गरेको उल्लेख गर्दै राष्ट्रिय अनुसन्धान विभागले नेपाल प्रहरीसँग आवश्यक सहकार्य गर्दै जाने बताए ।समारोहमा पूर्वप्रहरी महानिरीक्षक कुँवेरसिंह रानाले सुरक्षा क्षेत्रका चुनौती बदलिँदो समयसँगै जटिल हुँदै गएको अवस्थामा त्यसको सामना गर्न महानगरीय प्रहरीलाई पूर्ण कानुनी अधिकार दिनुपर्नेमा जोड दिए । राजधानी दैनिकमा खबर छ ।



