अस्ट्रियामा ३१ वर्षका युवक सेवस्टियन कुर्ज राष्ट्रपति बन्नुभएको छ । पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले बिश्वकै कम उमेरका राष्ट्रप्रमुख बन्नुभएको छ । उहाँको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ । बहुमत ल्याउन वञ्चित भएपनि विपक्षी फ्रिडम पार्टीसँग मिलेर उहाँले सरकार बनाउने तय भएको छ ।
सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ । कुर्जको पिपुल्स पार्टी परम्परा र पुरातनवादी धारको पार्टीका रुपमा परिचित छ । उहाँले आप्रवासीप्रति अनुदारवादी नीति र करमा उदार नीति लिनुभएको छ ।
‘यो देशमा परिवर्तनको समय हो, हामीलाई एक जबर्जस्त जनादेश मिलेको छ’ नवनिर्वाचित राष्ट्रपति कुर्जले भन्नुभयो, ‘देशमा परिवर्तन ल्याउन मद्दत गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’कुर्ज यसअघि २०१३ मा अस्ट्रियाका विदेशमन्त्री हुनुहुनथ्यो । उहाँ सबैभन्दा कम उमेर अर्थात २७ बर्षका विदेश मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । मे २०१७ मा पिपुल्स पार्टीको नेतृत्व हात परेपछि उहाँको लोकप्रियता बढेको थियो ।
युवा संगठनबाट राजनीति शुरु गर्नुभएका उहाँ राजधानी भियनाको सिटी काउन्सिलमा चुनिनु भयो । अस्ट्रियाको घेरलु राजनीतिमा उहाँलाई ‘उन्डरउज्जी’ को नाम दिइएको छ, जसको अर्थ पानीमा पनि हिँड्न सक्ने मानिस हुन्छ । उनको तुलना फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रो र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउसँग गरिने गरेको छ ।



