सरकारले पाँच सय र हजार दरका नोट खारेज गरेको सातादिनमा यही कारणले ४७ जना भारतीयको ज्यान गएको छ। तीमध्ये धेरै वृद्ध छन् जो लामो लाइनमा उभिएका थिए। केही बिरामी शिशुको पनि ज्यान गएको छ, जसका आमाबुबाले अस्पताल र डाक्टरलाई पैसा तिर्न सकेनन्। केही युवा र अधवैंशेले भने आत्महत्या गरेका छन्।
झारखण्डका रामचन्द्र पासवान आफूसँग भएका पाँच सय र हजार दरका नोट साट्न लामो समयदेखि लाइन बसेका थिए। लाइन बस्दाबस्दै उनी बैंक अगाडि नै ढले। उत्तर प्रदेशको बलियाका सुरेश सोनारको घन्टौं लाइनमा बस्दा पनि नोट साट्न नसकेपछि हृदयाघातका कारण ज्यान गयो। छोरीको तिलकमा दिन पैसाको व्यवस्था नभएकाले उनी तनावमा थिए।
पुनाको एक ग्रामीण इलाकामा बैंकमा पियन रहेका ५३ वर्षका टुकाराम तान्पुरेले पनि हृदयाघातका कारण ज्यान गुमाए। उनका साथीका अनुसार १२ घन्टादेखि पैसा साट्न आएको भीड व्यवस्थित गर्दागर्दै उनी तनावमा थिए।
महाराष्ट्र–नान्देडका ६० वर्षका दिगम्बर कास्पे पैसा साट्न बैंकको लाइनमा बस्दाबस्दै ढले। ढलेको ठाउँबाट उनी उठ्न सकेनन्। त्यहीँ उनले अन्तिम सास फेरे।
झारखण्डको बोकारोका २० वर्षीय लवकुशको पनि पैसा नभएको चिन्तामै ज्यान गयो। नोट प्रतिबन्धपछि ज्यालादारीमा काम गर्ने उनका बुबाले काम पाउन सकेका थिएनन्। नातिको मृत्युको खबरले विक्षिप्त बनेकी उनकी ७० वर्षीया हजुरआमा लक्ष्मीको पनि हृदयाघातका कारण ज्यान गयो।
तेलंगनाको सिद्धिपेटका ४५ वर्षीय किसान बलैहयाले खानामा विष मिसाए। र, त्यही खाएर आत्महत्या गरे। उनी प्रतिएकड ६–७ लाखमा जमिन बेच्न लागिरहेका थिए। पाँच सय र हजारका नोटमा प्रतिबन्ध लागेपछि उनको जमिनको मूल्य घटेर २–३ लाख प्रतिएकड भएको थियो। छोराले आत्महत्या गरेको खबर सुनेपछि उनका ६५ वर्षीय बुबा गल्हैयालाई हृदयाघात भयो। उनका श्रीमती र छोराको अस्पतालमा उपचार भइरहेको छ।

लगातार दोस्रो दिन पैसा साट्न बैंकमा लाइन बसेका ४८ वर्षीय साउद अर रहमानको दिल्लीमा ज्यान गयो। रहमान पुराना नोट साट्न उनी बिहान पाँच बजे नै लाइनमा बसेका थिए। पालो आउनै लाग्दा काउन्टर बन्द भएपछि उनी त्यहीँ ढलेको परिवारका सदस्यले बताएका छन्।
बरेलीमा ५६ वर्षका खालिक हसन पनि बैंकको लाइनमा उभिरहेका बेला ढले। उनको त्यहीँ ज्यान गयो। ६० वर्षका दीपक शाहले पनि मुम्बईमा पैसा साट्न लाइनमा उभिएकाले बेला ढलेर ज्यान गुमाए।
२३ वर्षीय सञ्जय प्रजापत घरमा रहेको बुबाको आदर कार्ड लिन बैंकबाट दौडिँदै आइरहेका थिए। लडेर बाटैमा उनको ज्यान गयो। बुबाको कार्ड ल्याउन सकेको भए बैंकमा उनले पुराना नोट साट्न पाउँथे।
पाँच सयका नोट साट्न बैकमा पुगेकी ७० वर्षकी विजयालक्ष्मीको पनि आन्द्रप्रदेशको एक बैंकमा ज्यान गयो। तीन दिनदेखि पैसा साट्न लाइनमा उभिएका पश्चिम बंगालका शिक्षक धरनीकान्त भोमिकले पनि पैसा साट्न नपाई लाइनबाट ढलेर ज्यान गुमाए।
छोरीको बिहे हुन चार दिनअघि पञ्जाबका सुकदेव सिंहलाई हृदयाघात भयो। उनले छोरीको बिहेका लागि जम्मा पारेको पैसा कसैले लिन नमानेपछि सिंह तनावमा परेको उनकी श्रीमती सुरजित कौरले बताइन्। कौरका अनुसार सिंहले पहिला छाती दुखेको बताएका थिए। केहीबेरमा उनको ज्यान गयो।
उत्तर प्रदेशका १७ वर्षीय सुमितले आमाले प्रतिबन्धित नोट दिएपछि आत्महत्या गरे।
उडिसाको साम्बलपुरमा अभिभावकसँग पाँच सयका नोट मात्र हुँदा दुईवर्षे बिरामी बच्चाको ज्यान गयो। उनका आमाबुबासँग पाँचसयका नोट मात्र थिए। रिक्सावालाले त्यो पैसा लिएर रिक्सा चलाउन मानेनन्। अस्पताल पु¥याउन नपाउँदै बच्चाको ज्यान गयो। त्यो परिवारसँग अहिले प्रतिबन्धित भइसकेको पाँच सयका नोटमात्र छन्।
तेलंगनाका ७५ वर्षीय वृद्ध लक्ष्मीनारायणले दुई घन्टा लाइनमा उभिएपछि लडेर ज्यान गुमाए। उनी १ लाख ७० हजार रुपैयाँ बैंकमा जम्मा गर्न चाहन्थे। बूढाबूढीका लागि बैंकहरूमा छुट्टै लाइनको व्यवस्था गरिएको छैन।
बिहारको औरंगाबादमा बैंकको लाइनमा उभिँदाउभिँदै लडेर सुरेन्द्र शर्माको मृत्यु भयो।
मध्यप्रदेशको छतरपुर जिल्लाका किसान हल्के लोधीले मल र बिउ किन्न नसकेपछि आत्महत्या गरे। ‘बैंकमा पुराना नोट साटेर बिउ र मल किन्न पाएको भए उनले आत्महत्या गर्ने थिएनन्,’ उनका छिमेकी भूपेन्द्र लोधी भने।
पैसा साट्न तीन दिनदेखि लाइनमा सबैका ६० वर्षीय मजदुर अजिज अन्सारीको पनि मिरुत बैंकभित्र हृदयाघातका कारण ज्यान गयो। उत्तर प्रदेशका ७० वर्षीय रघुनाथ वर्मा तीन दिनदेखि पैसा साट्न बैंकमा गएका थिए। विवाहका लागि वर्मा परिवारलाई २ लाख चाहिएको थियो। तेस्रो दिन लाइनमा उभिएका वर्मा ढले। घटनास्थलमै उनको ज्यान गयो।
‘बुबा तीन दिनदेखि बैंंक जानुभएको थियो। धेरैपटक बैंक म्यानेजरलाई सहयोगका लागि याचना गर्नुभयो। खुट्टैमा ढोगे पनि बैंक म्यानेजरले सुनेनन्,’ वर्माका छोरा रविले भने।
भारतका केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री महेश शर्माको उत्तर प्रदेशमा रहेको अस्पतालमा उपचार नपाएर एउटा बालकको ज्यान गयो। कैलाश अस्पतालले बालकका आमाबुबासँग बच्चा भर्ना गर्न १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने बताएको थियो। उनीहरूसँग पुराना नोट मात्र थिए। भर्ना गर्न नपाउँदै बच्चाको ज्यान गयो।
तीन दिनसम्म पैसा साट्न नसकेपछि उत्तरी दिल्लीकी २४ वर्षीया रिजवानाले दोपट्टाले छतमा झुन्डिएर आत्महत्या गरिन्। गुजरातको सुरतमा दुई बच्चाकी आमाले छोराछोरीलाई खाना खुवाउन नसेकपछि आत्महत्या गरिन्। कुनै पनि पसलेले उनीसँग भएको पुराना नोट लिएर सामान दिन नमानेपछि उनले छोराछोरीलाई खाना खुवाउन सकेकी थिइनन्।
उत्तर प्रदेशको सामलीमा २० वर्षीया सावानाले पनि छतमा झुन्डिएर आत्महत्या गरिन्। बैंकमा पैसा साट्न गएका उनका भाइ घर आउँदा उनी झुन्डिरहेका थिइन्।

कर्नाटकको चिक्बालपुरमा १५ हजार रुपैयाँ साट्न बैंक पुगेकी महिलाले आत्महत्या गरिन्। उनले जँड्याहा श्रीमान्सँग लुकाएर पैसा जम्मा गरेकी थिइन्। तर बैंकको लाइनमा पुगेपछि उनको पैसा कसैले चोरिदियो।
तीन हजार रुपैया साट्न तीन दिन देखि बैंकमा बसेपनि साट्न नसकेपछि छत्तिसगढका एक किसानले आत्महत्या गरे। उनी पैसा साटेर तमिलनाडुमा भएका छोरालाई पठाउन चाहन्थे।
गुजरातको सुरेन्द्रनगरमा बैंक लाइनमा बस्दाबस्दै हृदयाघातका कारण एक ६९ वर्षीय वृद्ध भुइँमा ढले। त्यहीँ उनको ज्यान गयो।
कानपुरमा एक्लै बस्दै आएकी एक वृद्धा आफूसँग भएको पैसा गन्दागन्दै बेहोस भएर मरिन्। प्रहरीले २ लाख ६९ हजार पैसा उनको लाससँग फेला पारेको बताएको छ। कानपुरैमै एक अधवैंशे प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच सय र १ हजारका नोटमाथि प्रतिबन्ध लगाउने घोषणा सुन्दासुन्दै बेहोस भएर लडे। उनी त्यसपछि उठ्न सकेनन्। उनले अघिल्लो दिनमात्र जग्गा बेचेको ७० लाख रुपैयाँ लिएका थिए। महिनौं लगाएर उनले जग्गा बेचेका थिए।
मुम्बईमा नवजात शिशुलाई अस्पतालले भर्ना गर्न नमानेपछि उनको ज्यान गयो। बच्चाका आमाबुबासँग पुराना नोट मात्र थिए। भारतमा सरकारी अस्पतालमा मात्र पुराना पाँच सय र एक हजारका नोट दिएर भर्ना हुन सकिन्छ।
१८ महिनाकी कोमलीका बुबाआमाले पनि उनका लागि औषधि किन्न सकेनन्। उनका बुबा आमासँग पाँच सय र हजारको नोट मात्र थिए। मेडिकलले पाँच सयका नोट लिएर औषधि दिन मानेनन्।
उत्तरप्रदेशको मैनपुरीमा हन्हन्ती ज्वरो आएका १८ महिने बालकलाई डाक्टरले उपचार गर्न मानेनन्। बच्चाका अभिभावकले उनलाई घर ल्याए तर बच्चालाई बचाउन सकेनन्। उनीहरूसँग भएको पाँच सयका नोटको अब के काम?
राजस्थानको पालीमा चम्पालाल मेघवालको नवजात शिशुलाई एम्बुलेन्सले अस्पताल लैजान मानेन। किनकि उनीसँग पाँच सय र हजारको मात्र नोट थियो। चम्पालाल एम्बुलेन्सलाई दिन एक सय रुपैयाँको नोटको व्यवस्था गर्न लागे। उनी फर्केर नआउँदै उनका बच्चाको सास रोकिइसकेको थियो।
उत्तर प्रदेशको कुसीनगरकी एक धोबी आफूले जम्मा पारेको २ हजार रुपैयाँ बैंकमा जम्मा गर्न गएकी थिइनन्। कसैले उनलाई यो नोट अब चल्दैन भनिदियो। उनी आत्तिएर त्यहीँ लड्नि। र, उनको मृत्यु भयो।
तेलंगनाकी ५५ वर्षीय कान्दुकुरी विनोदाले जम्मा गरेको ५५ लाख काम लाग्दैन भन्ने सोचेर आत्महत्या गरिन्। उनले लोग्नेको उपचार र छोरीलाई दाइजो दिन जग्गा बेचेर पैसा जम्मा गरेकी थिइन्।
पश्चिम बंगालको होरामा नोट प्रतिबन्धले तनावमा रहेका एक पतिले आफ्नी पत्नीको हत्या गरिदिए। उनकी पत्नीले एटिएमबाट पैसा ल्याउन सकेकी थिइनन्। उनी लाइनमा बसेर पनि पैसा ल्याउनुपर्छ भन्दै रिसाएका थिए।
बिहारको काइमुरमा ४५ वर्षीय रामअवध शाहको हृदयाघातका कारण ज्यान गयो। उनले छोरीको बिहेमा दाइजो दिन ३५ हजार रुपैयाँ जम्मा गरेर राखेका थिए। पाँच सय र हजारका नोट प्रतिबन्धित भएपछि उनलाई हृदयाघात भएको थियो।
केरलाका ४५ वर्षीय केके उन्नीले बैंकको दोस्रो तलाबाट लडेर ज्यान गुमाए। उनी पाँच लाख रुपैयाँ जम्मा गर्न अघिल्लो दिनदेखि लाइनमा बसेका थिए। डिपोजिट स्लिप भर्दाभर्दै उनी लडेका थिए। उनले ऋण मागेर पैसा ल्याएका थिए। अघिल्लो दिनदेखि पैसा साट्न नसकेपछि उनी तनावमा थिए।
मुम्बईमा पैसा जम्मा गर्न लाइन लागेका ७२ वर्षका विश्वास भार्तकको पनि हृदयाघातले ज्यान गयो।
गुजरातका ४७ वर्षीय किसान बार्कात शेख पनि लाइनमा बस्दाबस्दै हृदयाघातको शिकार भए। कामदारलाई पैसा दिन उनी पुरानो नोट साट्न आएका थिए।
एक घन्टादेखि लाइनमा बसेका केरलाका ७५ वर्षीय वृद्ध पनि हृदयाघातबाट बच्न सकेनन्। कर्नाटकको उडुपीमा लाइनमा बसेका ९६ वर्षका गोपाल सेठ्ठी भुँइमा लडे र ज्यान गुमाए। उनी बितिसक्दा बैंक भने खुलेकै थिएन।

भारतीय दूरसञ्चारबाट अवकाश पाएका ६९ वर्षीय विनयकुमार पाण्डे मध्यप्रदेशमा पैसा साट्न बैंकमा पुगेका बेला ज्यान गुमाए। भोपालमा स्टेट बैंक अफ इन्डियाका कर्मचारीको हृदयाघातका कारण ज्यान गयो। लामो समय काम र भीड व्यवस्थापन गर्दागर्दै उनलाई हृदयाघात भएको थियो।
प्रधानमन्त्री मोदीको नोट प्रतिबन्ध लगाउने भाषण टिभीमा हेरिरहेका उत्तर प्रदेशका व्यापरीलाई हृदयाघात भयो। डाक्टर आउन नपाउँदै उनको ज्यान गइसकेको थियो।
यी त मिडियामा आएका विवरण मात्र हुन्। पाँच सय र हजारको नोट प्रतिबन्धका कारण ज्यान गुमाउने अरू पनि हुन सक्छन्।


