
लक्ष्मी काफ्ले झापा
प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर–३ चर्चाको शिखरमा छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपा महामन्त्री राजेन्द्र लिङदेन यस क्षेत्रबाट चुनाव लड्दैछन् ।
एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन भएसँगै कांग्रेसले पनि राप्रपासँग गठबन्धन ग¥यो । तर, त्यो गठबन्धन झापामा टिक्न सकेन । त्यसको प्रमुख कारक थिए, कांग्रेस नेता सिटौला । राप्रपा र कांग्रेसबिच गठबन्धन भएसँगै झापाको क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री लिङदेन उम्मेदवार बन्ने सहमति भएको थियो । यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका सिटौलालाई यसपटक समानुपातिक सूचीमा राखेका थिए, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ।
तर, सिटौलाले समानुपातिकमा बस्न रुचाएनन् । उनले जसरी पनि प्रत्यक्षमै चुनाव लड्ने अडान कसेपछि झापामा कांग्रेस र राप्रपाबिचको लोकतान्त्रिक गठबन्धन भत्किएको हो । लगत्तै एमाले र माओवादी केन्द्रले राप्रपालाई झापा–३ मा सघाउने निर्णय ग¥यो । राप्रपाले पनि मेची अञ्चलभर उम्मेदवार उठाएन । र, वाम गठबन्धनलाई सघाउने निर्णय ग¥यो । झापामा बनेको यो गठबन्धनलाई राप्रपा उम्मेदवार लिङदेन ‘वामपन्थी, देशभक्त, राष्ट्रवादीहरुको गठबन्धन’ भन्न रुचाउँछन् ।
लिङ्देन यसअघि पनि सोही क्षेत्रबाट कांग्रेस नेता सिटौलासँगै पराजित उम्मेदवार हुन् । पराजित भए पनि उनले कहिल्यै आफ्नो क्षेत्र भने छाडेनन् । लगातार जनताको सेवामा जुटिरहे । कांग्रेस नेता सिटौलालाई पराजित गर्ने उनको पुरानो धोको हो । कांग्रेससँग गठबन्धन भत्किएपछि सिटौलालाई ‘धुलो चटाउँछु’ भन्दै कम्मर कसेका लिङ्देनलाई त्यति नै बेला वाम गठबन्धनले साथ दियो । र, उनी सिटौलालाई ५० हजार मतान्तरले हराउने दर्विलो आत्मविश्वासका साथ चुनावी मैदानमा छन् ।
‘मान्छेले २ वटा कुरामा एकदमै ध्यान पु¥याउनुपर्ने रहेछ,’ लिङ्देन भन्छन्, ‘छोरी दिँदा सय पटक, भोट दिँदा हजार पटक सोचिएन भने दुःख पाइन्छ ।’ पटक–पटक सिटौलाले यस क्षेत्रबाट चुनाव जिते पनि केही विकास निर्माणका काम गर्न नसकेको लिङ्देन बताउँछन् । पछिल्लो २५ वर्षमा सिटौलाले गर्न नसकेको काम आफू निर्वाचित भएको ५ वर्षमा गरेर देखाउने लिङ्देनको दाबी छ ।
‘म यहीँको धुलो, माटोमा हुर्केको, खेलेको सामान्य परिवारको मान्छे हुँ, मैले यहाँका बासिन्दाको दुःख राम्ररी बुझेको छु,’ उनी भन्छन्, ‘पटक–पटक चुनाव जितेर पनि कांग्रेसले यहाँ धेरै चकचक ग¥यो, धेरै मात्तियो, त्यसैले हामीले वामपन्थी, देशभक्त, राष्ट्रवादीहरुको गठबन्धन नै बनाउनुप¥यो ।’
देशका बलिया दुई पार्टीको समर्थन पाएकाले सिटौलालाई पराजित गर्ने आफ्नो सपना साकार हुनेमा विश्वस्त देखिन्छन्, लिङ्देन । कांग्रेसले २५ वर्षमा नगरेको काम आफू विजयी भएको ५ वर्षभित्रमा गर्न नसकेमा फेरि भोट माग्दै नहिँड्ने उनी बताउँछन् । आफूसँग काम गर्ने क्षमता, सपना र योजना प्रशस्तै रहेको उनले सुनाए । ‘चुनाव नजित्दा त सिटौलाले भन्दा बढी सेवा गरेर बसेको छु, जितेपछि कहाँ चुप लागेर बस्छु र ?,’ लिङदेनले भने ।
चुनावी अभियानका क्रममा सिटौला भने लिङ्देनलाई विभिन्न आरोप लगाइरहन्छन् । लिङ्देन चाहिँ कसले कति काम गरेको छ भन्ने जान्नका लागि आफूसँगै भोट माग्दै हिँड्न सिटौलालाई चनौती दिन्छन् । ‘आमाको दूध खाएको बाबुको छोरा हो भने सिटौलालाई मेरो आह्वान छ, सँगै भोट मागेर हिँडौँ जनतासँग, क–कसले कति–कति काम गरेको हो, शास्त्रार्थ गर्न तयार छु,’ लिङ्देन भन्छन्, ‘उहाँले गरेको काम बेसी देखिएछ भने आजै उम्मेदवारी त्यागेर उहाँको झोला बोकेर हिँड्न तयार छु ।’
सिटौलाले पछिल्ला २५ वर्षसम्म विकासको सिन्को नभाँचेको लिङदेनको आरोप छ । अहिले निर्वाचनको मिति नजिकिएपछि भने सिटौलाले सडकमा सर्वे गर्न मान्छे खटाएको उनले सुनाए । ‘अन्तिम चुनाव यही हो भन्ने बुझेछन् क्यारे, अहिले चुनावको मखमा बाटो सर्वे गरेझैँ गर्दैछन्,’ लिङदेनले भने, ‘अब यो क्षेत्रको विकास म गर्छु, यो गठबन्धन राप्रपा, एमाले र माओवादीको मात्र होइन, आफ्नै जुनीमा यस ठाउँको विकास हेरेर मर्न चाहने मतदाताको पनि हो ।’
निर्वाचन हार्ने निश्चित भएपछि पैसाको भरमा सिटौला भोट किन्दै हिँडेको लिङदेनको आरोप छ । यो चुनावले यी दुई उम्मेदवारको भाग्य र भविष्यको फैसला गर्ने आम मतदाताले टिप्पणी गरिरहेका छन् । लिङ्देन भने यो चुनावले झापा क्षेत्र नम्बर–३ का मतदाताको चाहिँ भाग्यको फैसाला गर्ने बताउँछन् । आफू निर्वाचित भएपछि झापा–३ लाई विकासका हिसावले नमूना बनाउने उनको सपना छ ।
‘म भ्रष्टाचार गरेर खान्नँ, एकपटक जिविस झापाको सभापति बनेँ, ५०औँ करोडको विकास निर्माणका काम गरेको छु, एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छुइनँ भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु, पाथीभरा देवीको मन्दिरमा छिरेर आएको छु,’ लिङ्देनले भने, ‘एक्लै कांग्रेसलाई धुलो चटाउन हिँडेको थिएँ, एमाले र माओवादीको साथ पाएँ, अब सांसद् त हुन्छु नै, भविष्यमा मन्त्री र प्रधानमन्त्री नै भएँछु भने पनि एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ भनेर म जुनसुकै मन्दिर, मस्जिद र चर्चमा छिर्न सक्छु ।’ भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भन्छन् लिङदेन ।
आफू पटक–पटक मरेर बाँचेको लिङ्देनले सुनाए । आफ्नो निर्वाचन क्षेत्रका मतदाताको मुहारमा उज्यालो ल्याएर मात्र मर्ने उनको अठोट छ । ‘काम गर्ने मान्छेलाई मात्र भोट दिन पाइने व्यवस्था भए सिटौलाले पनि मलाई नै भोट दिनुपर्ने हुन्छ,’ लिङदेनको तर्क छ ।
यतिबेला कांग्रेस उम्मेदवार सिटौलाले एउटा पुरानो घटनालाई लिएर लिङ्देनलाई अनौठो आरोप लगाइरहेका छन् । वर्षौंअघि पञ्चायतकालमा सोही क्षेत्रका प्रजापति सापकोटाको हत्या लिङदेनले गरेको भन्दै सिटौला आफूलाई मत माग्दैछन् ।
यस विषयमा राप्रपा महामन्त्री लिङ्देनले पहिलो पटक मुख खोलेका छन् । ‘मलाई हत्यारा, मन्डले, ज्यानमारा भन्दै कस्सिएर भाषण गर्दै हुनुहुन्छ सिटौलाजी,’ लिङदेनले भने, ‘प्रजापति सापकोटा काण्डमा मेरो वकिल बसेर मलाई निर्दोष सावित गर्ने उहाँ (कृष्णप्रसाद सिटौला) नै हो ।’ न्यायाधीशको अगाडि राजेन्द्र लिङ्देन निर्दोष हो भन्दै वहस गर्ने मान्छेले अहिले आरोप लगाइरहेको उनले बताए । ती कुनै पनि घटनामा आफ्नो संलग्नता पुष्टी गरेमा सिटौलाको नोकर बस्न तयार रहेको लिङदेनले बताए ।
‘उहाँ गृहमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे, अहिले पनि उहाँको सरकार छ,’ लिङ्देन भन्छन्, ‘हत्यारा, ज्यानमारालाई यसरी छाडा छाड्न पाइन्छ ? समातेर जेल हाल्नु पर्दैन ? हालेर देखाउनु ।’ सिटौला गृहमन्त्री हुँदा ४५ करोडको सामान किन्दा ३६ करोडको भ्रष्टाचार गरेको सुडान घोटाला काण्ड आफूलाई राम्ररी थाहा भएको लिङ्देनले बताए । सिटौला नै गृहमन्त्री हुँदा मधेस आन्दोलनमा ५४ जना मधेसीको हत्या भएको लिङ्देनको स्मरणमा ताजै छ ।
‘म त मार्दा मार्दै बाँचेको मान्छे हुँ, मेरो निधारमै लेखेको छ– विकास र परिवर्तन नगरी नमर्नु भनेर,’ उनी भन्छन्, ‘वमले हान्दा बाँचेको छु, एम्बुस थाप्दा बाँचेको छु । हजारौँ मान्छेले एकैचोटी कुट्दा बाँचेको छु, के को लागि बाँचेको होला त म ? एक दिन मर्नै पर्छ, मर्छु । तर, मतदाताका लागि केही नगरी मर्दिनँ ।’ नयाँ पत्रीका बाट सभार



