काठमाण्डौ । प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्न बसेको मन्त्रिपरिषद् बैठक सामान्य विषयमा निर्णय गर्दै सम्पन्न भएको छ ।
निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न आग्रह गरेपछि बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्ने भनिएको थियो । तर, राजनीतिक सहमतिको आधारमा प्रदेश प्रमुख तोक्नु पर्ने कुरा उठेपछि मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्न नसकेको हो ।
सरकारले प्रदेश प्रमुख तोक्न नसक्दा प्रदेश अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली मार्फत दलहरुले पाएको सिट संख्याको प्रतिवेदन निर्वाचन आयोगले बुझाउन पाएको छैन ।
मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा निर्वाचन अध्यादेशको विवादबारे समेत छलफल गरेको छ । तर, यो विषयमा भने मन्त्रिपरिषदले केही निर्णय गर्न सकेन । बैठकले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ भने क्यान्सर, मृगौला र पक्षघात रोगीलाई मासिक पाँच हजार रुपैयाँ उपचार रकम प्रदान गर्ने पनि निर्णय गरेको छ ।



