बुटवल /सरकारले पाँच नम्बर प्रदेश विभाजन गर्ने सहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा शनिबार चौथो दिन पनि रूपन्देही जिल्ला बन्द छ। कुनै संगठनले औपचारिक रूपमा बन्द आह्वान नगरेपनि यातायात, बजार र शिक्षण संस्था बन्द छन्। बन्दकर्ता पनि सडकमा देखिएका छैनन्। बन्दका कारण रूपन्देही भएर चल्ने लामो तथा छोटो दुरीका गाडी चलेका छैनन्। जसका कारण जनजीवन कष्टकर बन्न थालेको छ। शुक्रबार बुटवलमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला र विरोध प्रदर्शन गरेको संयुक्त संघर्ष समिति प्रदेश नम्बर ५ ले जिल्लास्तरमा आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको थियो। रूपन्देहीमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्ने एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए। शुक्रबार बुटवलमा भएको प्रदर्शनपछिको सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका केन्द्रीय नेताहरूले संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका थिए।


