दमक/कृषि विकास मन्त्री गौरिशंकर चौधरीले आँउदो १० वर्षमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
आज झापाको दमकमा पूर्वाञ्चल क्षेत्रीय स्तरको पशुबजारको शिलान्याश गर्दै उहाँले कृषिलाई अधुनिकीकरण गरेर देशलाई आत्मनिर्भरको बाटो तर्फ लाने सरकारको योजना रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ कृषिलाई आधुनिकीकरण गर्न हामी लागि परेका छौँ, कृषकलाई अनुदानमा कृषि औँजार दिन्छौँ’ । ६५ प्रतिशत जनता कृषि पेशामा लागेको बताउदै उहाँले भन्नुभयो,‘ नेपालमा कृषि पेशा आधुनिकीकरण भएको छैन, कृषकले धेरै दुख गरे पनि खान सम्म नपुग्ने अवस्था छ त्यसैले हामी कृषकलाई सुरक्षा भत्ता दिने योजनामा छौँ’ ।
लामो समय सम्म कृषि पेशा गर्ने कृषक पहिचान गरि परिचय पत्र वितरण गर्ने र परिचय पत्रको आधारमा सुरक्षा भत्ता दिने उहाँले बताउनुभयो । अहिलेको सरकारले पनि कृषकहरुलाई प्रोत्साहनका लागि पेन्सन दिने कार्यक्रम ल्याउने बताउनुभयो । यो योजना अघिल्लै सरकारको भएपनि यो कार्यक्रमका लागि बजेट नछुट्यापनि आफुहरुले नमुना कार्यक्रमका रुपमा किसानहरुलाई पेन्सन दिने व्यवस्था गर्न लागेको प्रस्ट पार्नुभयो ।
फरक प्रसंगमा उहाँले विकास निर्माणका क्षेत्रमा सबै एक जुट हुनुको विकल्प नभएको पनि बताउनुभयो । यहाँले शिलान्यस गर्नुभएको नेपालकै पहिलो सुबिधा सम्पन्न पशुहाटलाई समयमा काम सम्पन्न गर्न समेत ठेक्दार कम्पनीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो,‘ तपाईहरु राम्रो काम गर्नुहोस्, मन्त्रालयबाट आवस्यक सहयोग गर्छु, एकै समयमा धेरै ठेक्का नलिनुहोस्’ । शिलान्यास भएको उक्त पशु बजार नेपालकै पहिलो सुबिधा सम्मपन्न भएको ब्यवसायी कृषि तथा ब्यापार आयोजना केन्द्रका आयोजना संयोजक डाक्टर गाविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । आयोजना केन्द्र मार्फत बिश्व बैँकले अधुनिक पशुहाटको निर्माणका लागि ११ करोड ७६ लाख २६ हजार ७ सय ४२ रुपयाँ लगानि गनरेको उहाँले जानकारी दिनुभयो । यो पशुहाट निर्माणका लागि विराटनगर स्थित लामारमण जेभि भुमि कन्ट्रक्सनले आउँदो वर्षको पुष सम्ममा निर्माण सम्पन्न गर्ने गरि ठेक्कामा लिएको छ ।



