
दमक/झापाको स्थानीय तह पुनर्संरचनामा बिरोध जनाउदै आएका क्षेत्र नम्बर ७ का स्थानीय राजनीतिक दल प्रतिनिधिले आज प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय तह पुनर्संरचनामा क्षेत्र नम्बर ७ लाई दमक उपमहानगरपालिका बनाउन माग गर्दै उनीहरुले अन्तिम पटक अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका हुन् । ५० जना भन्दा बढीको संख्यामा पुगेका दमक, लखनपुर, तोपगाछी र धरमपुरका स्थानीय संघर्ष समितिको सदस्यहरुले प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रि र स्थानीय विकास अधिकारी तथा पुनर्संरचना जिल्ला स्थित प्राविधिक सहयोग समितिका सभापति समेत रहेका खेमराज ओझालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रिले दमकलाई उपमहानगरपालिका बनाउने माग जायज भएको भन्दै आफूले यस विषयमा मध्यस्त कर्ताको भूमिका निर्वाह गर्ने बताए । यस्तै स्थानीय विकास अधिकारी ओझाले स्थानीय तह पुनर्संरचनामा विगतमा केही कमी–कम्जोरी भएकाले यसलाई सकरात्मक ढंगबाट दलका नेताहरु संघ कुरा गर्ने बताएको आन्दोलन संघर्ष समितिका संयोजक रेवतपुरीले बताए । ज्ञापनपत्र बुझाउदै नेकपा एमालेका होम बहादुर थापा, नेपाली काँग्रेसका शेरबहादुर भट्टराईले आफुहरुले घोषणा गरिएको कार्यक्रममा प्रहरी दमन भएमा सार्वजनिक यातायात र बजार समेत ठप्प पार्ने बताए । संघर्ष समितिले २५ गते दमकमा बृहत जनसभा र २६ गते देखि यस क्षेत्रका सबै सरकारी कार्यालयमा अनिश्चितकालिन तालाबन्दीको घोषणा यस अघिनै गरि सकेको छ ।



