ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि राजधानी ढाकामा विरोध प्रदर्शन सुरु भएको छ।
पूर्व प्रधानमन्त्री खालिदा जियालाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला भएको थियो। सो फैसलाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा उनका समर्थकहरुले आन्दोलन थालेका हुन्।
७२ वर्षिय जियामाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषको रकम हिनामिना गरेको आरोप थियो। तर उनेले सो आरोपको खण्डन गर्दै आएकी थिइन्।
जियामाथि राजनीतिक प्रतिशोधका आधारमा फैसला गरिएको भन्दै उनका समर्थकहरुले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा उनीहरुले
केहि सवारी साधनमासमेत आगजनी गरेका छन्।
आज बिहानैदेखि राजधानी ढाकामा सुरु भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्याँस प्रहार गर्दै जियाका सयौँ समर्थकलाई तितरबितर पारेको छ।
हिजो फैसला सुनाउने समयमा पनि ढाकास्थित अदालतमा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जियालाई लागेको भ्रष्टाचारको अरोपमाथि विगत लामो समयदेखि सुनुवाई जारी थियो। सो मुद्दामा बिहीबार भएको अन्तिम सुनुवाइमा अदालतले उहाँलाई पाँच वर्षको जेल सजाय फैसला गरेको हो ।
फैसलापछि उनले यसै वर्षको अन्त्यतिर हुन लागेको संसदीय चुनावमा पनि भाग लिन नपाउने बङ्गलादेका कानुनी क्षेत्रका अधिकारीहरुले जनाएका छन्।
फैसलापछि उनले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको प्रतिक्रिया दिएकी थिइन्।
उनीविरुद्ध अरु पनि धेरै मुद्दाहरु अदालतमा विचाराधिन रहेका छन्। पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौँ मुद्दामध्येको एक भएको पनि जनाइएको छ।
बङ्गलादेशको भ्रष्टाचार हेर्ने विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले बिहीबार सो फैसला गरेका हुन्।
उक्त फैसलामा अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहितका अरु पनि पाँच जनालाई दश वर्षको जेल सजाय सुनाएको छ। उक्त भ्रष्टाचार मुद्दामा उनीहरु पनि संलग्न भएको अदालतको फैसलामा उल्लेख छ।
उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिनसक्ने बताइएको छ। उनका अधिवक्ताले यस विषयमा आज निर्णय गरिने बताएका छन्।
जियासहित पाँच जनाविरुद्ध सन् २००८ को जुलाइमा भ्रष्टाचारसम्बन्धी उक्त मुद्दा दर्ता भएको थियो। सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन्। रासस/सिन्ह्वा



