आर्य संस्कृतिमा चैत्र शुक्ल पक्षबाट नयाँ संवत्सरको प्रारम्भ हुन्छ र तदनुसार यस वर्ष विरोधकृत् नामको संवत्सर प्रारम्भ भइसकेको छ । यसरी जुन बारदेखि नयाँ संवत्सरको प्रारम्भ हुन्छ, त्यो बारसम्बद्ध ग्रह वर्षभरिका निमित्त ग्रहसभाको राजाको भूमिकामा रहेको मान्ने गरिन्छ । त्यसैले यस वर्ष आइतबारका दिन चैत्र शुक्ल प्रतिपदा परेको थियो, अतः सूर्य आगामी नयाँ वर्ष २०७५ का निमित्त राजा बन्नेछ । त्यसरी नै नयाँ वर्षको वैशाख एक गते जुन बार पर्दछ, त्यस दिनको बारसम्बद्ध ग्रह वर्षभरिका निमित्त ग्रहसभाको मन्त्री पदमा चयन हुने पद्धति छ । यस पटक शनिबारका दिन वैशाखको सङ्क्रान्ति पर्ने भएकाले शनिश्चर ग्रह ग्रहसभाको मन्त्री पदमा विराजमान रहने छ । यस वर्ष दशाधिकारिणी समितिमा राजा पदमा सूर्य, मन्त्री पदमा शनि, सस्येश पदमा चन्द्रमा, धान्येश सूर्य, मेघेश शुक्र, रसेश बुध, निरसेश चन्द्रमा, फलेश गुरु, धनेश चन्द्रमा र दुर्गेश पदमा शुक्र ग्रहको जिम्मेबारी देखिन्छ ।
https://youtu.be/I9oODZTaOEs
आकाशीय दशाधिकारिणी समितिमा वर्षनायकका रूपमा सूर्य र मन्त्री अर्थात् अमात्य पदमा शनिको उपस्थिति छ । सूर्य र शनिश्चरको आपसी सम्बन्धका आधारमा आम जीवनजगतको सञ्चालन र व्यवस्थापन हुने आकलनबमोजिम यी दुबै ग्रह परस्परमा उग्र शत्रुताको भाव राख्ने गर्दछन्, त्यसैले आकाशीय प्रशासनिक एकाइमा यी दुबै ग्रहहरूको सर्वोच्च पदमा रहनु आम जनता एवं सत्ता र प्रशासनमा बस्नेहरूका बीचमा सौमनस्यताको अभाव, गम्भीर वैचारिक मतभेद, न्यायपालिका एवं कार्यपालिकाका बीचमा वैचारिक विरोधाभासको परिस्थिति आदि सिर्जना हुने सङ्केत छ । आगामी नयाँ वर्षमा केन्द्रीय सत्ता र स्थानीय एवं प्रान्तीय सत्ताका बीचमा अधिकार, कर्तव्य, हक आदिका विषयमा विवाद, मतभेद र बहस हुने सम्भावना छ । त्यसबाहेक सरकारका मन्त्री तथा कर्मचारीरप्रशासनका बीचमा द्वन्द्व देखा पर्ने सम्भावना छ, जुन वर्षको प्रारम्भ नभई व्यवहारमा देखिन थालिसकेको छ ।
आम जनतामा विधि, कानून र प्रशासनको झमेला बढ्ने छ, अपराधलाई नियन्त्रित गर्न कतिपय कडा कानूनको निर्माण हुनेछ र कठोर दण्डव्यवस्था लागू गरिने छ । शीर्षस्थ नेताहरूको पारस्परिक सामञ्जस्यको अभावका कारण विकासका योजनाको कार्यान्वयनमा अभाव र सुरक्षासम्बन्धी कमजोरी देखिने छन् । प्रशासनिक क्रियाकलापमा पारदर्शिताको कमी, देशको अपेक्षित विकासको मार्गमा अवरोध आदि सिर्जना हुनेछ । शुक्र ग्रहले अन्नादिका निमित्त उपयोगी वृष्टि प्रदान गर्नेछ । रसादिको उत्पादनको दायित्व बुधमा एवं विभिन्न मौसमी फलफूलको उत्पादनको भार गुरु बृहस्पतिमा रहेको छ, अतस् रसादि चिजबिज दूध, दही, उखु, चिनी, सक्खर, गुड, खाँड आदिको उत्पादनमा बृद्धि हुनेछ । मौसमी तुलफूलमा पनि रोगव्याधिको प्रकोप रहने छैन, पर्याप्त उत्पादनको सम्भावना छ । सस्येश पदमा आसीन मङ्गलका कारण पशुचौपायामा हानि र निरसेश चन्द्रमाका कारण सेतो पदार्थको मूल्यबृद्धि हुने सङ्केत छ ।
अधिकतम विषयहरूको सञ्चालनको दायित्व विषम ग्रहहरूको हातमा भएकाले विषम राजनैतिक र सामाजिक परिस्थितिका कारण आम जनताले अन्याय र अवरोधको सामना गर्नुपर्छ । ग्रहहरूको गोचरगत प्रभावलाई विचार गर्दा शनिश्चर ग्रहले वर्षभरि धनु राशिमा सञ्चरण गर्नेछन् । गुरु बृहस्पतिले यस वर्ष गतिमा शीघ्रता र बक्रता देखाउनाले तीनवटा राशि क्रमशः तुला, बृश्चिक र धनु राशिमा विचरण गर्नेछ । त्यस्तै वैशाखदेखि श्रावणसम्म शनिश्चर ग्रहको समेत बक्रता रहने छ । शनिको उक्त बक्र अवधिमा आम जनताले अत्यन्त भय र त्रासको वातावरणमा जीवन धान्नु पर्ने हुन्छ । यसै बीच भाद्र, कार्तिक, मंसिर, पुस र माघ महिनाको औंसीको आसपासमा चतुर्ग्रही ग्रहयोगको सिर्जना हुने र प्रायशः वर्षान्तसम्म नै कर्कट राशिमा राहुको उपस्थिति रहने भएकाले पनि जनमानसमा कष्टको स्थिति सिर्जना हुने सङ्केत छ । यस वर्ष वर्षको प्रारम्भदेखि अन्त्यसम्म नै संसारमा कुनै न कुनै किसिमको प्राकृतिक प्रकोप भूकम्प, बाढीपैह्रो, दुर्भिक्ष, सुक्खा र जनसंहारका घटना घटित भएमा नौलो र अनायासै भएको मान्नु हुँदैन । त्यसैले ठाउँठाउँका राज्यपक्ष र सरकारी निकायले प्राकृतिक विपत्तिबाट जोगिने उपाय हरहमेसा अवलम्बन गरेको जाति हुन्छ ।
संत्वसरको नाम नै विरोधकृत् छ, त्यसैले नामअनुरूप यस वर्ष आमजनता र राजामा विरोधको भावना उत्पन्न हुन्छ । विकासनिर्माणका हरेक क्रियाकलापमा राज्यपक्षमा दिग्भ्रमको सङ्केत रहने छ, त्यसैले सरकार योजना र रणनीतिको लक्ष्यसम्म पुग्न मुस्किल छ । विश्वमा श्रमिकजनको कल्याणार्थ अनेकानेक प्रयास हुनेछन्, बौद्धिक र शिक्षाक्षेत्रको सुधारका निमित्त विचारविमर्श हुनेछ । युद्धग्रस्त क्षेत्रहरूमा सन्धिवार्ता र मैत्रीको प्रयास हुनेछन् । विश्वको तापमानमा वृद्धि हुनेछ । पापकर्म र दुराचारमा बृद्धि हुनेछ । खाडी देश र अरब प्रायद्वीपमा आतङ्ककारी हिंसा फैलने छ, युद्धको भयावह वातावरण सिर्जना हुनसक्छ । पूर्वी एसिया र अष्ट्रेलियाइ प्रायद्वीपमा सङ्घर्ष र विखण्डनका निमित्त आन्दोलन भड्किन सक्छ । विश्वबजारमा सैन्य सामाग्री र हातहतियारको क्रयविक्रयमा बृद्धि हुनेछ । पूर्वी र दक्षिणी भूभागका समुद्रको तटीय क्षेत्रमा विपत्ति आइलाग्ने सङ्केत छ । देशमा विभिन्न महामारी फैलन सक्छ । वित्तीय क्षेत्र र सेयरबजारमा राम्रो सङ्केत छ । मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध कायम हुनेछ, विदेशी सहायतामा बृद्धि हुनेछ । ओडार र खानीमा दुर्घटना हुन सक्छ । देशको पश्चिमी र उत्तरी क्षेत्रमा सामाजिक सङ्घर्ष र तनाव बढ्ने छ भने पूर्वी भागमा शैक्षिक वा प्राज्ञिक क्षेत्रमा नराम्रा घटना घट्ने सङ्केत देखिन्छ ।
आर्द्रा प्रवेशको बिन्दुलाई विचार गर्दा वर्षाको स्थिति सामान्य छ । आँधीहुरी र हुण्डरीको प्रकोप देखा पर्न सक्छ । खासगरी भारतको गुजरात, महाराष्ट्र क्षेत्रमा यसको बढी प्रकोप रहनेछ । उत्तरी भारत र नेपालमा वर्षाको स्तर उत्तम नै रहने छ । पश्चिम नेपालमा असमयमा वर्षा हुनाले कृषिउपजमा घाटा देखिने छ । धान, गहुँ र रहरको खेतीमा यसको प्रकोप देखा पर्नेछ । वर्षारम्भमा शनि र मङ्गलको युति भएकाले कुनै विशिष्ट व्यक्तिको देहावसानको सम्भावना छ । सामाजिक र स्वास्थ्यसम्बन्धी सेवाक्षेत्रमा विस्तार हुनेछ । शैक्षिक क्षेत्रमा शुभफल छ ।
जगल्लग्न कुण्डलीको विचार गर्दा लग्नेश बुध दशमभावमा आफ्नो नीच राशिमा रहेकाले शासकवर्गमा नकारात्मक सोचको विकास हुने र दमनको नीति अख्तियार गरिने भएकाले जनता दुःखी र भयभीत हुनेछन् । सप्तम भावमा मङ्गल र शनिको युति भएकाले नेतृत्व तहमा विश्वासको सङ्कट उत्पन्न हुनेछ । वैदेशिक व्यापारमा असन्तुलन हुने र उपभोग्य वस्तुको मूल्यमा भारि बृद्धि हुने सङ्केत छ । जगल्लग्न कुण्डलीमा सूर्य, शुक्र र गुरु बृहस्पतिको उपस्थितिले उद्योगधन्दा, शैक्षिक प्रतिष्ठान र परराष्ट्र नीतिमा केही सकारात्मक परिणाम प्राप्त हुनेछन् ।
अब वर्षप्रवेशको समयमा रहेको जगल्लग्न कुण्डलीका आधारमा विभिन्न राशिका व्यक्तिहरूले यस वर्ष केकस्तो फल पाउने छन्, त्यसको चर्चा गरौं ।
मेष राशि
मेष राशि हुनेहरूका निमित्त यस वर्षको पूर्वार्द्ध शुभकारक र उत्तरार्द्ध निराशाजनक रहने छ । असोजसम्म पठनपाठन, शैक्षिक क्षेत्र, व्यापार, साझेदारी र सामूहिक कामबाट लाभ मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुने छन् । सम्पत्तिसम्बद्ध मुद्दामामिलामा सफलता मिल्नेछ । सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । पारिवारिक यात्राको सम्भावना छ । तर कार्तिकपछि मानसिक चिन्ताले सताउने छ । मनमा के गर्ने र के नगर्ने भन्ने दुविधाको सिर्जना भइरहन्छ । सरकारी कर्मचारीहरूको कार्यभारमा वृद्धि हुनेछ । व्यापारीहरूको कारोबारमा बाधा उत्पन्न हुनेछ । यद्यपि कारोबारको सुसञ्चालनमा कमी देखिने छैन । मातापिताको स्वास्थ्यमा समस्या आउन सक्छ । विद्यार्थीहरूले कडा परिश्रम गर्नुपर्नेछ । नारीहरूले संयमित व्यवहार देखाउन सकेमा मात्र घरको वातावरण सुखमय बन्नेछ । यस वर्षको जेठ, कार्तिक र चैत्र महिना कष्टदायक रहने छन् ।
उपाय
मेष राशि हुनेहरूका निमित्त यो नयाँ वर्षभरि शुभफलमा बृद्धि भइरहोस् भन्ने उद्देश्यले मङ्गलबारका दिन व्रत बस्नु वा उमेर पुगेकाले मङ्गल कवचको र बालबालिकाले हनुमान् चालिसाको पाठ गर्नु वाञ्छनीय हुनेछ । दैनिक रूपमा गाईलाई खानेकुरा प्रदान गरेमा वा मुँगा रत्न धारण गरेमा पनि शुभफलमा बृद्धि हुनेछ ।
वृष राशि
वृष राशि हुनेहरूको अष्टम भावमा यस वर्ष शनिको उपस्थिति रहनेछ । त्यसैले यिनीहरूले आकस्मिक रूपमा घर र परिवारमा विविध समस्याको सामना गर्नुपर्ने हुन्छ । दैनिकीमा कार्यबोझ बढ्ने छ । आँखा र टाउको सम्बन्धी रोगव्याधि देखिन सक्छ । व्यापारीहरूले प्रतिस्पर्धा गर्नुपर्छ र आर्थिक क्षेत्रमा मन्दीको सामना गर्नुपर्नेछ । बैंक, वित्तीय क्षेत्र, सेयरबजार, सट्टापट्टामा फाइदा हुने छैन । सवारीसाधनमा यात्रा गर्दा वा वाहन चलाउँदा सचेतता अपनाउनु पर्छ, दुर्घटनाको भय छ । सम्पत्ति अपचलनको सम्भावना छ । पतिपत्नीबीचमा ठास्सठुस्स बढ्ने छ । तर वर्षको उत्तरार्द्धमा केही राम्रा परिणाम प्राप्त हुनेछन् । पुराना समस्या हल हुनेछन्, रोकिएका काममा सफलता पाइनेछ । विवाहयोग्य युवायुवतीले दाम्पत्यबन्धनमा बाँधिने अवसर पाउने छन् । सन्ततिपक्षबाट शुभ सङ्केत मिल्नेछ । यस वर्षको वैशाख, असार र मंसिर महिना हानिप्रद समय हुनेछ ।
उपाय
शनिवारका दिन व्रत बस्नु वा पीपलको पूजा गर्नु राम्रो हुन्छ । त्यसबाहेक वर्षको प्रारम्भमा नै शनिको शान्तिका निमित्त रुद्राभिषेक गरी शनिमृत्युञ्जयको पाठ गराउनु पनि लाभप्रद हुनेछ । काला चिजबीज कालोदाल, गहत आदिको दान गर्नु, सूक्ष्म जीव र तुच्छ जीवन यापन गरिरहेका मानवको सेवा गरेमा पनि लाभ प्राप्त हुनेछ ।
मिथुन राशि
मिथुन राशि हुनेहरूका लागि यो वर्ष मिश्रित फल प्राप्त हुने समय रहने छ । परिवारका वृद्धजनहरूको स्वास्थ्यस्थितिमा सुधार आउने छ । घरपरिवारमा कुनै शुभ वा माङ्गलिक कर्म सम्पन्न हुनेछ । बन्दव्यापार र पशुपालनको क्षेत्रबाट लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि यो वर्ष उत्तम रहने छ, प्रतियोगी र परीक्षार्थीहरूले सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । सरुवा र बढुवाका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै लामो यात्राको सम्भावना पनि देखिंदैछ । तर बैंक, वित्तीय क्षेत्र, पूँजीबजार र विज्ञापनका क्षेत्रमा काम गर्नेहरूले मन्दीको सामना गर्नुपर्ने छ । आफन्तसँगको लेनदेनको कारोबार र साझेदारीको काममा विवाद उत्पन्न हुनेछ । दाम्पत्य जीवनमा विचारको बेमेलले तनाव सिर्जना गर्नसक्छ । पारिवारिक स्वास्थ्यका क्षेत्रमा ठूलै धनराशि खर्च हुने सम्भावना पनि छ । यस वर्ष जेठ, साउन र पुस महिनामा शुभफलको कमी हुनेछ ।
उपाय
शुक्रवारका दिन व्रत लिनु राम्रो हुन्छ । भगवती दुर्गा वा महाकालीको मन्दिरमा नियमित रूपमा पूजाअर्चना र दर्शन गरेमा पनि लाभ प्राप्त हुनेछ । कमिलालाई चारो दिनु, गाईलाई तुलादान गर्नु वा कुनै सौभाग्यवती महिलालाई सौभाग्यका सामाग्री उपहार दिंदा पनि शुभफल प्राप्ति हुनेछ ।
कर्क राशि
कर्क राशि हुनेहरूका निमित्त यस वर्ष नोकरी र सामाजिक काममा पदोन्नति, मानसम्मान मिल्ने समय भए पनि समग्रतामा मिश्रित परिणाम प्राप्त हुनेछ । आर्थिक पक्ष मजबूत नै रहने छ र कर्मचारीले अनिच्छित काम गर्नु परे पनि आर्थिकबृद्धिका लागि गरिएको प्रयास सफल हुनेछ, त्यस्तै प्रतियोगी र परीक्षार्थीले राम्रो नतिजा हात पार्ने सङ्केत छ । तर आकस्मिक व्ययको चिन्ताले सताउने देखिन्छ । बैंक, वित्तीय क्षेत्र र सेयरबजारमा फाइदा हुने छैन । लगानी डुब्ने खतरा छ । जागिरेले नचाहेको क्षेत्रमा खट्ने परिस्थिति बन्ने छ । गृहिणी र महिलामा मानसिक तनाव बढ्ने छ । घरमा कोही न कोही बिमारी भइरहने परिस्थिति बन्नेछ । पारिवारिक स्वास्थ्यका सिलसिलामा अस्पताल धाइरहनु पर्नेछ । आँफू स्वयंलाई पेट र दाँतका रोग देखिन सक्छन् । यस वर्षको असार, भदौ र माघ महिना हानिकारक देखिन्छन् ।
उपाय
सोमवारका दिन वा पूर्णिमाका दिन व्रत लिनु राम्रो हुन्छ । नियमित रूपले भगवान् शिवको उपासना गर्दा पनि शुभफल पाइने भएकाले वर्षारम्भमा घरमा रुद्राभिषेकको आयोजना गरी शिवजीलाई दुग्धाभिषेक गराउनु असल हुन्छ अथवा दैनिक रूपमा बालबालिकालाई नरिवल र मिश्री मिसाएर बाँड्दा पनि शुभफलमा बृद्धि हुनेछ ।
सिंह राशि
सिंह राशि हुनेहरूका लागि यो वर्षको सुरुको छ महिना शुभ देखिदैन । वर्षको प्रारम्भमा अग्निभय, चोरभय र चोटपटकको सम्भावना छ । पेसा र रोजगारीका क्षेत्रमा अनेकानेक कठिनाइको सामना गर्नु पर्ने छ । बन्दव्यापारमा हानि हुनेछ । सूचना, सञ्चार र मौखिक अभिव्यक्तिसित सम्बद्ध काम गर्नेहरूको प्रतिष्ठा गिर्नेछ । शरीरमा रहेका पुराना रोगव्याधिले दुःख दिनेछन् । परिवारका ज्येष्ठसदस्य र जीवनसाथीको स्वास्थ्यमा पनि समस्या उत्पन्न हुनेछ । घरमा बाध्यताकारी धार्मिक कृत्य वा माङ्गलिक कर्मका कारण आर्थिक बोझ बढ्ने छ । तर वर्षको उत्तरार्द्धमा शत्रुहरू पराजित हुनेछन् । गुमेको धन हात लाग्नेछ । पारिवारिक स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ । दाम्पत्यजीवन सफल रहने छ । प्रतियोगी र परीक्षार्थीले सफलता पाउने छन् । पुराना इष्टमित्रसँग पुनः सहकार्य हुनेछ । यस वर्षको साउन, असोज र फाल्गुन महिना अझ बढी कष्टप्रद रहने छ ।
उपाय
भगवान् विष्णुको उपासना र आराधनाबाट शुभफलमा बृद्धि हुनेछ, त्यसैले वर्षको प्रारम्भमानै श्रीमद्भागवतको पाठ परायण वा सत्यनारायण भगवानको पूजा लगाउनु वाञ्छनीय हुनेछ । त्यसबाहेक प्रत्येक दिन सूर्योदयको समयमा गुलियो मिसाएर शुद्धजलले सूर्यलार्इ अर्घ्य दिंदासमेत लाभ पाइने छ ।
कन्या राशि
कन्या राशि हुनेहरूका लागि यो वर्ष समस्त मनोकाङ्क्षा पूर्ण गर्ने समय भएकाले अत्यन्त शुभ रहने छ । कर्मचारीको चाहेको ठाउँमा सरुवा हुने वा बढुवा मिल्ने सम्भावना छ । नातेदारहरूले सहयोग गर्नेछन् । प्रेम र प्रणय क्षेत्रमा शुभफल छ । विद्यार्थीहरूले परिश्रम गरेबमोजिम राम्रो परिणाम हात पार्नेछन् । जग्गाजमिन र घरघडेरीको जोहो हुनसक्छ । वैदेशिक क्षेत्रमा काम बन्नुका साथै विदेशबाट लाभसमेत हुनेछ । तथापि चतुर्थ भावमा रहेको अढैया शनिका कारण पारिवारिक समस्या बढ्न सक्छन् । राज्यपक्ष वा ठूलाबडासँग मतभेद र विवादको परिस्थिति देखा पर्नेछ । साँधसँधियार र साझेदारीमा विवाद र कलहको सम्भावना हुनेछ । कर्मचारीको कार्य क्षेत्रमा झमेला र विवादको स्थिति देखा पर्नेछ । स्वास्थ्यक्षेत्रमा श्वासप्रश्वास र हृदयरोगीले सतर्क रहनु आवश्यक छ । यस वर्षको भाद्र, कार्तिक र चैत्र महिना अन्य महिनाका तुलनामा हानिकारक रहने छन् ।
उपाय
राहु ग्रहको बीज मन्त्रको नियमित जाप गर्नाले लाभ मिल्नेछ । प्रत्येक पक्षको पञ्चमी तिथिका दिन शिवालयमा दूध र लाजा चढाएमा पनि लाभ हुनेछ । त्यसबाहेक सर्पाकृति औंठी वा लकेट बनाएर धारण गरेमा वा रोगी र असहायको सेवा गरेमा तथा कसैलाई झुट्टा आश्वासन नदिएमा पनि शुभफलमा बृद्धि हुनेछ ।
तुला राशि
तुला राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदायी समय रहने छ, यद्यपि स्वास्थ्यसम्बद्ध समस्या देखा पर्न सक्छन् । गरेका हरेक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता बढ्ने छ । तर व्यापारीहरूको बन्दव्यापारमा मन्दीको सङ्केत छ, ऋणभार बढ्न सक्छ । सरकारी कर्मचारीहरूले कार्यक्षेत्रमा कार्यभार बढेको अनुभूति गर्नेछन् । बौद्धिक क्षेत्र खासगरी शिक्षण, अध्यापन, लेखन पत्रकारिता क्षेत्रका व्यक्तिहरूले सम्मानित हुने अवसर पाउने छन् । आर्थिक पक्षका समस्याको निराकरण हुनेछ, तर घरभित्रका समस्या बल्झिने सम्भावना हुन्छ । पारिवारिक ढंगले गरिएको लगानी र लेनदेनमा हानि पुग्नसक्छ । वर्षको अन्त्यमा कर्मचारीले उपल्लो निकायबाट दवाव बढेको अनुभूति गर्नेछन् । अड्डाअदालतबाट लाभ लिन सकिंदैन । आम्दानीको बाटो सहज भए पनि फजुल खर्च बढ्ने सम्भावना पनि छ । खासगरी यस वर्षको वैशाख, असोज र मंसिर महिना तपाईंका लागि सतर्क रहनु पर्ने समय हो ।
उपाय
बिहीबारका दिन गुरु वा भगवान् विष्णुको व्रत लिनुहोस् । रहर वा चनाको दाल अथवा मौसमअनुसार पाकेका फलफूलको दान गर्नुहोस् । आफ्ना पुजेका ब्राह्मण वा गुरुलाई बोलाएर प्रत्येक महिनाको सङ्क्रान्तिका दिन भोजन गराउनु होस् अथवा भगवान् नारायणको मन्दिरमा हरेक बिहिबारका दिन पहेंलो फूल चढाउनु हवस् ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरूका लागि पूर्वार्द्धका तुलनामा उत्तरार्द्ध केही लाभमूलक रहने सङ्केत छ । शनिश्चर ग्रहको अन्तिम साढेसातीको समय रहेकाले अनावश्यक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । मेसिन, हातहतियार र वाहनबाट सचेत हुनुपर्छ, दुर्घटनाको प्रकोप सहनु पर्नेछ । नाता र कुटुम्बका बीचमा विवाद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ । बहुमूल्य सामान हराउने र चोरी वा ठगीमा पर्ने सम्भावना देखिन्छ । आर्थिक स्थिति सामान्य रहे पनि बन्दव्यापारबाट लाभ लिन सकिंदैन । प्रतियोगी र परीक्षार्थीले पहिलेभन्दा अलिबढी मिहिनेत गर्नुपर्नेछ । सुरुको छ महिना चिताएका काम पूर्ण गर्न विभिन्न विघ्न र बाधाको सामना गर्नुपर्ने हुन्छ, तर उत्तरार्द्धमा चिताएका काम बन्नेछन् । विवाहयोग्य युवायुवतीको घरजम हुनेछ । वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सकिने छ । विशेषगरी यस वर्षको जेठ, कार्तिक र पुस महिना बढी हानिकारक रहने छन् ।
उपाय
मङ्गलबारका दिन व्रत लिनुहोस् । श्री गणेश अथर्वशीर्ष, हनुमान् चालिसा वा सुन्दरकाण्डको नियमित पाठ गर्नुहोस् । गाईलाई चारोका रूपमा गहुँ खुवाउनु होस् । मुँगा रत्न धारण गर्नुहोस् अथवा हरेक मङ्गलबारका दिन भगवान् गणेशको प्रतिमामा २१ वटा दुबो चढाउनु हवस् ।
धनु राशि
धनु राशि भएका व्यक्तिहरूले यस वर्ष केही सकारात्मक फल प्राप्त गर्नेछन् । शनिको मध्य साढेसातीको समय चलिरहेकाले दौडधूप र सङ्घर्षप्रद समय रहे पनि अड्डाअदालत र राज्यपक्षबाट हुनु पर्ने काममा सफलता मिल्नेछ । पुराना झैझगडा र विवादको अन्त्य हुनेछ । गुमेको धन फिर्ता आउने छ । सन्ततिपक्षबाट शुभफल प्राप्त हुनेछ । वैदेशिक प्रयोजनका कामबाट लाभ पाइनेछ । विदेशयात्राको योग छ । सरकारी पद र प्रतिष्ठा आर्जन गर्न गरेको प्रयास सफल हुनेछ । वाहन जोड्ने वा घरघडेरीको जोहो गर्ने समय आएको छ । तर घरपरिवारमा सबैको स्वास्थ्यसम्बद्ध अनेकानेक समस्या देखिन सक्छन् । विशेषगरी पाचन प्रणालीमा विविध समस्या देखा पर्ने सम्भावना छ । वर्षान्तमा पवित्र तीर्थस्थलको भ्रमण हुनसक्छ र सामाजिक कार्यमा खर्च बढ्ने सङ्केत छ । खासगरी यस वर्षको असार, मंसिर र माघ महिना अनुकूल हुने छैनन् ।
उपाय
शनिवारका दिन एकाबिहानै पीपलको पूजा गर्नुहोस् । ब्लड डोनेसन ९रक्तदान० गर्नुहोस् । कतै बृक्षारोपण गरी त्यसलाई उचित स्याहारसम्भार गर्नुहोस् । गरिबगुरुबालाई आवश्यकतानुसार दानादि गर्नुहोस् अथवा जामुनिया रत्न चाँदीमा औंठी बनाई धारण गर्नुहोस् ।
मकर राशि
मकर राशिमा आद्य साढेसातीको प्रकोप रहेको वर्ष भए पनि मिश्रित प्रभाव भएको समय छ । आर्थिक दृष्टिले समय तनावपूर्ण रहने छ । नातागोता र आफन्तका बीचमा खटपट बढ्ने छ । पति वा पत्नीको स्वास्थ्यस्थिति कमजोर बन्नेछ । बन्दव्यापारमा साझेदारबाट समस्या उत्पन्न हुनेछ । रिस र आवेगमा बृद्धि हुनेछ । मनोबलमा खस्कने छ । कर्मचारीले अपजसको भागी बन्नुपर्नेछ, नचाहेको जिम्मेबारी लिनुपर्ने वा मन नपरेको ठाउँमा सरुवा हुनुपर्ने परिस्थिति पनि देखिन्छ । परिवारमा बाध्यताकारी काममा धनखर्चको योग छ । तर केही शुभफल पनि पाइने छ, जस्तै वैदेशिक क्षेत्रका कामबाट लाभ हुनेछ, परिवारमा माङ्गलिक कर्म सम्पादन हुनेछन् । सन्ततिपक्षबाट खुसीको वातावरण बन्नेछ । अयाचित धनागम हुनेछ र पुर्ख्यौली सम्पत्तिको बाडफाँडको सङ्केत पनि देखिंदैछ । खासगरी यस वर्षको साउन, पुस र फाल्गुन महिना तपाईंका लागि लाभप्रद रहने छैनन् ।
उपाय
दैनिक रूपमा श्रीमद्भागवत, गीता, विष्णुसहस्रनामस्तोत्र वा विष्णुकवचको पाठ गर्नुपर्छ । वर्षको प्रारम्भमा श्री सत्यनारायणको पूजाअर्चना गर्दा शुभफल प्राप्त हुनेछ । छात्रछात्रालाई मिश्री र नरिवल मिसाएर वितरण गर्दा पनि शुभफलमा बृद्धि हुनेछ ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरूका लागि यो वर्ष अनुकूल रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापार बढ्ने आय आर्जनका नयाँ नयाँ स्रोत फेला पर्नेछन् । फँसेको धन फिर्ता आउने छ । घरायसी र पारिवारिक तनावको अन्त्य हुनेछ । धार्मिक र पर्यटकीय महत्त्वका क्षेत्रको भ्रमण हुनेछ, वा कतै पारिवारिक भ्रमणमा जान सक्नुहुन्छ । विद्यार्थी, प्रतियोगी र परीक्षार्थीले मिहिनेतबमोजिम राम्रो परिणाम प्राप्त गर्नेछन् । सन्ततिले आफ्नो कार्यक्षेत्रमा गरेका प्रयासमा सफलता आर्जन गर्नेछन् । घरपरिवारमा शुभकर्म वा माङ्गलिक कर्मको आयोजन हुनेछ । यद्यपि मातापिता वा अभिभावकको स्वास्थ्यमा बाधा पुग्ने सम्भावना छ, तर डराइहाल्नु पर्ने परिस्थिति बन्दैन । जागिरेले प्रशंसा र बढुवा पाउने छन् । समग्रमा राम्रै वर्ष छ, तर साझेदारीमा गरेको कामबाट बेफाइदा हुनेछ । यस वर्षको भाद्र, माघ र चैत्र महिना सचेत हुनुभएको जाति हुन्छ ।
उपाय
यस वर्ष अझ उत्कृष्ट फल प्राप्त गर्न वर्षको प्रारम्भमा घरमा सत्यनारायणको पूजा गर्नु राम्रो हुन्छ । त्यसबाहेक हरेक हप्ताको आइतबारका दिन व्रत लिनु, आदित्य हृदय स्तोत्रको पाठ गर्नु वा हरेक दिन सूर्यलाई अर्घ्य प्रदान गर्नु पनि तपाईंका लागि लाभदायक रहने छ ।
मीन राशि
यो वर्ष धनधान्य र सुस्वास्थ्यका दृष्टिकोणले उत्तम समय छ । सुखद र शुभ समाचारहरू प्राप्त हुनेछन् । जग्गाजमिन, मोटरगाडी, आभूषण र गरगहना जोड्ने समय छ । ठूलो पद वा सम्मानको अवसर मिल्नेछ । शुभकर्म र माङ्गलिक कर्मको आयोजना हुनेछ । दाजुभाइसितको सम्बन्ध सुध्रने सङ्केत छ, तर पैतृक सम्पत्ति र लेनदेनको विवाद अझ चुलिन सक्छ । व्यापारीहरूले नयाँ कारोबार सुरु गर्नेछन् । मिडिया र लेखनव्यवसायका व्यक्तिहरूले मानसम्मान र प्रतिष्ठा पाउने छन् । तर सामाजिक र राजनीतिमा लागेकाहरूले अलि बढी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । दाम्पत्यजीवनमा विश्वासको सङ्कट देखा पर्नेछ, त्यसैले भ्रम र हल्लाका भरमा कुद्नु हुँदैन । वर्षको पूर्वार्द्धमा अष्टमभावमा राशिस्वामी रहेकाले रोगव्याधि र चोटपटकको भय हुनेछ, सचेत हुनुपर्छ । विशेषगरी यस वर्षको वैशाख, असोज र फाल्गुन महिना तपाईंका लागि लाभप्रद रहने छैनन् ।
उपाय
हरेक मङ्गलबारका दिन गणेशजीको व्रत लिनु राम्रो हुन्छ अथवा हरेक मङ्गलबार वा बुधबारका दिन गाई वा कालो बोकोलाई हरियो घाँस खुवाउनु पनि लाभप्रद रहने छ । एउटा पन्ना रत्न सुनमा जडान गरी औंठी वा लकेट बनाएर धारण गर्दा पनि लाभ लिन सकिने छ । पैतृक कर्म र कुलायनको पूजाआजामा सहभागी हुँदा पनि शुभफल बढ्ने छ । –पुर्बेली न्यूज बाट साभार



