यमनको उत्तर–पश्चिमी हिजाह प्रान्तमा वैवाहिक समारोहका दौरान हवाई आक्रमण हुँदा दुलहीसहित दर्जनौँको मृत्यु भएको छ । घटनामा परेर मृत्यु हुनेको पूर्ण विवरण अझै आइसकेको छैन ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले २० जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, स्थानीय सावा न्युज एजेन्सीले ५० जनाको मृत्यु भएको जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले स्थानीय स्वास्थ्य अधिकारी मोहम्मद अल असवाललाई उद्धृत गर्दै घटनामा कम्तीमा ४० जना मारिएको हुन सक्ने उल्लेख गरेको छ । घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । ‘गम्भीर घाइतेमध्ये १२ जनाभन्दा बढीको अवस्था चिन्ताजनक छ,’ असवालले भनेका छन् ।
हिजाहस्थित अल जुमहोरी अस्पतालका प्रमुखले पनि ४० जना मारिएको बताएका छन् । ‘४० वटा लास भेटिएको छ । अधिकांश लास टुक्राटुक्रा भएको छ,’ उनको भनाइ उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ । घटनामा घाइते भएका ४६ मध्ये ३० जना बालबालिका रहेको अधिकारीहरूले बताएका छन् ।
आइतबार विवाह भइरहेको घरमा हमला भएको थियो । साउदी अरबको नेतृत्वमा यस्तो हमला भएको हुन सक्ने अनुमान लगाइएको छ ।
साउदी गठबन्धनले अनुसन्धान गर्ने
यमनमाथि निरन्तर हमला गरिरहेको साउदी अरेबिया नेतृत्वको गठबन्धनले यस घटनाका विषयमा अनुसन्धान गर्ने बताएको छ । ‘यस रिपोर्टलाई हामीले गम्भीर रूपमा लिएका छौँ,’ गठबन्धनका प्रवक्ताले रोयटर्ससँग भनेका छन् । उनले थप जानकारी दिन अस्वीकार गरेका छन् ।
यस गठबन्धनमा युएई, सेनेगल, सुडानलगायतका देश सहभागी छन् । यमनमा शुक्रबार पनि साउदी नेतृत्वको हुथी विद्रोही समाप्त गर्ने नाममा साउदीले सन् २०१५ को मार्चदेखि यमनमा हस्तक्षेप गरिरहेको छ । अपदस्थ राष्ट्रपति मन्सुर हादीलाई पुनस्र्थापित गर्ने योजनासहित साउदीले थालेको युद्धमा अहिलेसम्म १० हजारभन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाका अनुसार करिब २ करोड १० लाख जनसंख्या युद्धको चपेटामा छ । संयुक्त राष्ट्रसंघका अनुसार देशको कुल जनसंख्याको ६० प्रतिशतले खाद्यान्नको अभाव भोगिरहेको छ । त्यस्तै, आधा जनसंख्या आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित छ ।
निसानामा जन्तीदेखि मलामीसम्म
यमनमा विवाह समारोहमा आक्रमण भएको यो पहिलो घटना भने होइन । यसअघि सेप्टेम्बर २०१५ मा विवाहभोजमा हवाई हमला हुँदा एक सय ३० भन्दा धेरैले ज्यान गुमाएका थिए । नोभेम्बर २०१७ मा सदाह प्रान्तस्थित एक बजारमा बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको थियो । गठबन्धनले त्यतिवेला विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हुथी विद्रोहीहरू जमघट हुने गरेकाले आक्रमण गरिएको दाबी गरेको थियो ।
२०१७ मा मलामी गएकाहरूमाथि आक्रमण भएको थियो । आक्रमणमा एक सयभन्दा धेरैको मृत्यु भएको ह्युमन राइट्स वाच (एचआरडब्लू)को प्रतिवेदनमा उल्लेख छ । यस घटनालाई युद्ध अपराधका रूपमा लिइएको एचआरडब्लूले जनाएको छ । अमेरिका र बेलायतबाट खरिद गरेको हतियार तथा प्राप्त सैन्य सहयोगलाई साउदीले यमनमा आक्रमण गर्नका लागि प्रयोग गर्ने गरेको एचआरडब्लूको आरोप छ । गत मार्चमा मात्रै साउदी अरेबिया र अमेरिकाबीच १२ दशमलव ५ बिलियन डलरबराबरको हतियार खरिद–बिक्री सम्झौता भएको थियो ।



