इजिङ, चीन । चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिकामाथि चक्कु प्रहार हुँदा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएकाे बताइएको छ । एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा एक जनालार्इ नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घाइते सवै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । स्थानीय सुरक्षा प्रशासनले घटनामा पाँच बालिका र दुई बालकको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेहरूमा नौजना छात्रा र दुई छात्र रहेका छन् ।
मृतक तथा घाइते सवैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू रहेका बताइएको छ । झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ ।



