पछिल्लो केहि समय यता बिग्रीएको जस्तो देखिएको भारत चीन सम्बन्धमा सुधारको संकेत देखिएको छ । छिमेकी मित्रराष्ट चीन र भारतबीच एक आपसमा कायम अविश्वास हटाई नयाँ अध्याय सुरु गर्न सहमती भएको छ । चिनिया राष्ट्रपति सी चिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यस्तो समहति भएको हो ।दुवै नेता सीमा क्षेत्रमा शान्ति कायम गर्नसमेत सहमत भएका छन् । सीमामा रणनीतिक सञ्चारलाई बलियो बनाउनेवारेमा पनि जिनपिङ मोदी सहमत भएका हुन्। सो कामका लागि दुबै सरकारले सीमामा खटिएका सुरक्षाफौजलाई रणनीतिक निर्देशन दिनेभएका छन् । सी र मोदीबीच शुक्रबार र बिहीवार भएका वार्तामा उल्लेख्य सहमति जनाउँदै सीमा समस्या समाधान गर्न दुवै देशका तोकिएका प्रतिनिधिले तयार पारेको प्रतिवेदनलाई अनुमोदन गरिएको छ ।
चिनिया राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको थियो भने शनिवार इष्ट लेकबाट वार्ता शुरुभएको थियो । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका थिए ।
बार्तामा दुवै देशका नेताले भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि खुला छलफल गरेका समाचार एजेन्सीहरुले जनाएका छन । दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय शुरू गर्ने बिषयमा केन्द्रित भएको छ ।
सो अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका बिषयमा चासो उठाएको बताइएको छ । नयाँदिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानूनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ ।
शनिवार सङ्ग्रहालयको अवलोकनपछि केही समय बैठक भएको थियो । शनिवार प्रधानमन्त्री मोदी इस्ट लेकमा डुङ्गा भ्रमण गरी पुनः बैठकमा सहभागी भए । ‘मलाई विश्वास छ कि भारतीय प्रधानमन्त्री र म यस बैठकबाटै चीन–भारतबीचको सम्बन्धमा नयाँ अध्याय बनाउनका लागि मार्ग प्रशस्त गर्न सफल हुनेछौं,’ चिनियाँ राष्ट्रपति सीको भनाई उधृत गर्दै राज्य सञ्चालित सिसीटीभीले भनेको छ ।
सो टीभीका अनुसार राष्ट्रपति सीले दुई देशले पछिल्लो समयमा असल सम्बन्ध कायम राख्न सफल भएको र आगामी दिनमा सवै क्षेत्रमा निकट साझेदार र सहकार्यका साथ अघि बढ्न आफूले चाहेको नेता सीले बताएका छन । सवै देशहरूबीच रहेको मित्रवत सम्बन्धलाई निरन्तर मजबुत पार्दै ‘याङ्से तथा एलो रिभर’ जस्तै नरोकिने गरी अघि बढ्ने उनको भानई थियो ।
भारतीय प्रधानमन्त्री मोदीले आफूलाई दुई पटकसम्म भेटवार्ता गर्ने अवसर दिएको भन्दै चिनियाँ प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन । ‘यसले उहाँको भारतप्रतिको माया र मित्रतालाई देखाएको छ,’ मोदीले भनेका छन । विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या रहेको चीन र भारतलाई विश्वका धेरै समस्या हलगर्ने जिम्मेवारी रहेको र राष्ट्रपति सीसँगको भेट यसका लागि ‘बृहत अवसर’ भएको बताएका छन ।
‘तपाईको ‘नयाँ युग’ को सपना र हाम्रो ‘नयाँ भारत’ भन्ने धारणा विश्वको उपलब्धिका लागि सही कदम हुनेछ,’ राष्ट्रपति सी र आफ्नो नारालाई स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीको भनाई थियो ।



