एजेन्सी / राजस्थान
भारतको उत्तर प्रदेश र राजस्थानमा धुलोयुक्त आँधीका कारण सय बढीको मृत्यु भएको छ । उत्तराखण्डको चमोलीमा भूस्खलन हुँदा सडक यातायात समेत प्रभावित भएको छ ।
बुधबार रातिबाट आएको आँधीका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो भने रूखहरू ढल्नुका साथै घरहरू भत्किएका छन् । उत्तर प्रदेशमा मात्रै सो शक्तिशाली आँधीमा परी ७० जनाको मृत्यु भएको छ भने अन्य ८३ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये प्रसिद्ध पर्यटकीय स्थल ताजमहल रहेको
जिल्ला आगरामा मात्रै ४३ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी पशु चौपाया मारिएका छन् । आगराका अलवा उत्तर प्रदेशको बिजनौर, बरेली, सहारनपुर, पीलीभीत, फिरोजाबाद, रायबरेली र उन्नाब लगायतका जिल्लामा शक्तिशाली आँधीले ठूलो क्षति पु¥याएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आवश्यक सम्पूर्ण सहयोग पु¥याउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
आँधीका कारण रूखहरू उखेलिएर तथा पर्खालहरू भत्किँदा धेरैको मृत्यु भएको छ । सयौं रूख उखेलिएका छन् भने घर भत्किनुका साथै बिजुलीका खम्बा भाँचिँदा तथा तार चुँडिएर विद्युत् आपूर्ति बन्द भएको थियो ।
यस्तै, राजस्थानमा यो समाचार तयार पार्दासम्म ३२ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । राजस्थानमा आँधीबाट सबैभन्दा बढी भरतपुर प्रभावित भएको छ । सो जिल्लामा १७ जनाको मृत्यु भएको छ भने धौलपुरमा ९ र अलवरमा ९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी धौलपुरमा ५० जना घाइते भएका छन् । राजस्थान सरकारले मृतकका परिवारलाई ४÷४ लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ६० हजार रुपैयाँ दिने भएको छ ।



