एजेन्सी :
क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको विमानको ‘ब्ल्याक बक्स’ भेटिएकाे छ । खाेजतलासकै क्रममा ब्लाक बक्स फेला परेको विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले बताएका छन्।
राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए। शुक्रबार हवानास्थित विमानस्थलबाट उडे लगत्तै उक्त विमान दुर्घटनामा परेको थियो।
सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए।
अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ। क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको हुनाले चाँडै विमान दुर्घटनाबारे सथ्यतथ्य पत्ता लाग्ने बताए । उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन्।
क्युबाको उक्त सरकारी एयरलाइन्ससँग रहेका अधिकांश विमान दुर्घटनामा परेको विमानजत्तिकै पुराना छन्। त्यही भएर अधिकारीहरूले अनुसन्धानलाई थप महत्त्व दिइरहेका छन्, अनुसन्धानबाट खुल्ने रहस्यले अन्य विमानकाे सुरक्षामा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ ।



