
दमक,बिष्णुप्रसाद पोखरेल। झापामा आर्युबेद चिकित्साप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आर्युबेद औषधालयले सञ्चालन गरेका गाँउघर स्वास्थ्य क्लिनिक र औषाधलयमा बिरामीहरुको चाप अधिक हुन थालेको पाईएको हो । जिल्ला आर्युबेद औषाधलयले शुरु गरेको गाँउ घर क्लिनिकमा घण्टौ कुरेर समेत बिरामीहरुले सेवा लिन थालेकाछन् ।
लखनपुरमा मंगलवार भएको आयुर्बेद स्वास्थ्य गाँउघर क्लिनिकमा ३ घण्टा लाइन बसेर जाँच गराउनु भएका ७८ बर्षिय पुरण घिमिरेले आफूहरुले पहिला आर्युबेदमा नै निर्भर रहेपनि छोरानातिहरुले यसको बेवास्था गरेकाले आफूहरुको रोग निको नभएको बताउनु भयो । उहाँले यहाँ आर्युबेदको औषधि र उपचार पाइन्छ भनेर थाहा पाएर आएको बताउदै अब आफ्नो रोग निको हुनेमा ढुक्क बनेको पनि बताउनु भयो ।
जिल्लाको सुरुगा र बुधबारेमा मात्र महिनामा दूइदिन हुदै आएको आर्यूबेद स्वास्थ्य घुम्ति शिबिर लखनपुरमा पनि शुरु भएपछि यहा बिरामी थेगिनसक्नु गरि भएको कविराज निरिक्षक बिपि शर्माले बताउनु भयो । उहाँका अनुसार लखनपुरमा शुरु गरिएको गाँउघर क्लिनिकमा एकैदिन २ सय ४० बिरामीहरुले सेवा लिएकाछन् भने १ सय ५० बिरामीहरु त्यसै फर्केकाछन् । लखनपुरमा यहि महिनादेखि महिनामा दूइपटक गाँउघर क्लिनिक शुरु गरिएको हो ।
झापा कै बैगुन्धुरा आर्युबेद औषधालयका प्रमुख समेत रहनु भएका कबिराज निरिक्षक शर्माका अनुसार पछिल्लो समयमा आर्युबेद उपचारमा बिरामीहरुको आकर्षण धेरै नै बढेको पाईएको छ । अन्य उपचारबिधि अपनाएर हैरान र निराश भएका बिरामीहरु आर्युबेदमा आउने क्रम बढेको र उनिहरुले यसबाट लाभ लिन थालेपछि बिश्वास समेत बढ्दै गएको बताईएको छ ।
ग्याष्ट्रिक, बाथ, पायल्स, दम, मधुमेह लगायतका बिरामीहरु अधिक रुपमा आउने गरेको र सेवाबाट सन्तुष्ट बनेको पाईएको शर्मा बताउनु हुन्छ । बाथका दीर्घ रोगीहरुलाई निशुल्क रुपमा सेक्ने सुबिधा समेत प्रदान गरिएकाले यसमा समेत आकर्षण बढेको बताईएको छ । बाहिर आर्युबेदीक उपचार गर्दा औषधि महगो हुने भएकाले त्यति धेरै नगएपनि सरकारी सेवा निशुल्क हुने भएकाले बिरामीहरु आर्युबेद औषधालय र गाँउघर क्लिनिकमा धाएर र पालो पर्खेर उपचार गराउने गर्छन् । सरकारले करिब ५० प्रकारका आर्युबेदिक औषधि निशुल्क दिदै आएको छ ।



